ईप्रका प्रसौनी बाराको घुमुवा मंजितको असुली धन्दा तीब्र, प्रहरी निरीक्षक श्रेष्ठले सहयोग गर्दै

अजय चौरसिया/
वीरगंज २५ बैशाख । बाराको प्रसौनी स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रसय दिईरहेको समाचार प्राप्त हुन आएको छ ।
ईप्रका प्रसौनी मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि एक प्रहरी जवान मंजित यादवलाई घुमुवाको रुपमा खटाईएको समाचार स्रोतले जनाएको छ ।
बालेन सरकारले सिमामा हुने अवैध गतिविधि तस्करीलाई पूर्ण रुपमा बन्द गर्न मातहतका निकायहरुलाई निर्देशन दिदै आए पनि सो निर्देशनलाई ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम प्रहरी निरीक्षक टोपेन्द्र श्रेष्ठले खुल्ला चुनौती दिएको जानकारहरु बताउंदछन् ।
ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी जवान मंजित यादवले “प्रहरी निरीक्षक श्रेष्ठ बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको ब्याजी हुन्, कसैले केही बिगार्न सक्दैनन्” भन्दै खुल्लेयाम सिमानाकाहरुमा पुगी तस्करहरु सँग रकम असुली गरिरहेको समाचार स्रोतले जनाएको छ ।
ईप्रका प्रसौनी मातहतमा पर्ने बलिरामपुर, छतवा, जोतपुर लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी घुमुवा यादवले रकम लिएपछि ग्रिनसिग्नल दिने गरेको ती स्रोतले जनाएको छ ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख श्रेष्ठ र घुमुवा यादवले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाजिक सञ्जालमा आईरहेको छयाप्छयाप्ती तस्करीका भिडियोहरुबाट पनि प्रमाणित हुन्छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् ।
सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक ५ हजार देखि ५० हजार सम्म प्रति तस्करबाट रकम असुली घुमुवा यादवले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
सो नाका भएर भारतबाट तस्करहरुको समुहले ईलेक्ट्रोनिक्स, किराना, कपडा, काजु, गुटका रजनीगंधा, हार्डवेयर, लागु औषध लगायतका सामग्रीहरु तस्करीको माध्यमबाट निर्वाध रुपमा नेपाल भित्रयाई रहेको समाचार स्रोतले जनाएको छ । ती स्रोतका अनुसार तस्करी वापत घुमुवा यादवले ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम प्रहरी निरीक्षक टोपेन्द्र श्रेष्ठलाई मोटो रकम बुझाउने गरेको बताईन्छ ।
यदि प्रहरी निरीक्षक श्रेष्ठले “मासिक नजराना नबुझेको भए रातीको समयमा निर्वाध रुपमा तस्करी भईरहेको भिडियो तथा विभिन्न माध्यमले प्रहरी निरिक्षकलाई जानकारी गराए पनि कुनै कारवाही नगरी मौन बस्नुले पनि उनको पनि संलग्नता रहेको प्रष्ट हुन्छ” ती स्रोतको कथन रहेको छ ।
सो क्षेत्रहरुबाट चोरी तस्करी बढेको विभिन्न सञ्चारमाध्यमहरुमा समाचारहरु आए पनि प्रहरी प्रधान कार्यालय एवं मधेश प्रदेश प्रहरी कार्यालयको ध्यान नपुग्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।
भिडियो स्रोत ः अग्निपथ मिडिया





