२५६ वर्षको राजनीतिक इतिहास खोतल्दा: के के देखियो ? वर्तमान र भविष्यको मार्गचित्र डा.विजय दत्त
२५६ वर्षको राजनीतिक इतिहास खोतल्दा: के के देखियो ?वर्तमान र भविष्यको मार्गचित्र डा.विजय दत्त

पृष्ठभूमि
नेपालको राजनीतिक क्षितिजमा १८२६ सालको भौगोलिक एकीकरणदेखि २०८२ सालको अभूतपूर्व परिवर्तनसम्मको यात्रालाई हेर्दा,नेपाली जनताले केवल सत्ता परिवर्तन मात्र होइन, एउटा गहिरो सामाजिक र मनोवैज्ञानिक पुनर्जागरण भोगेका छन । २५६ वर्षको लामो कालखण्डमा शाहवंशीय राजतन्त्र, १०४ वर्षको जहानियाँ राणा शासन, र २००७ सालपछिका विभिन्न लोकतान्त्रिक प्रयोगहरू भए। तर, २०८२ सालको नवयुवा पुस्ताको आन्दोलन र त्यसपछिको निर्वाचनले जे देखाए त्यो इतिहासकै सबैभन्दा क्रमभङ्गकारी मोड सावित भएको देखिन्छ ।
यथास्थितिवादको अन्त्य र नवयुवाको उदय
आधुनिक नेपालको इतिहासमा २०५२-२०६२ को दशकलाई ठुलो परिवर्तनको संवाहक मानिन्छ । तर, २०८२ सालको आन्दोलनले त्यसलाई पनि छायामा पारिदिएको छ । यो आन्दोलन केवल व्यवस्था परिवर्तनका लागि हैन बल्कि यो त ‘अवस्था’ परिवर्तन र ‘प्रतिनिधित्व’ को न्यायोचित वितरणका लागि भएको पाइन्छ । कुशासन कारणले दशकौँदेखि गुम्सिएको युवा आक्रोश, वैदेशिक रोजगारीको पीडा र भ्रष्टाचार विरुद्धको घृणा जब सडकमा विस्फोट भए त्यसले पुरानो राजनीतिक सिन्डिकेटलाई जरैदेखि उखेल्न भ्याए ।
२०८२ को आमनिर्वाचन: अचम्मको उलटफेर
२०८२ फागुन २१ गतेको निर्वाचन केवल अंकगणितको खेल भएन,यो नेपाली मतदाताको परिपक्वताको परीक्षापनि भए जसमा जनता A+ ले उतीर्ण भए । यस निर्वाचनले नेपालको शक्ति सन्तुलनलाई पूर्णतः नयाँ स्वरूप प्रदान गरे ।
बालेन्द्र साहको उदय:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय निर्वाचनमा दुई-तिहाइ बहुमत प्राप्त गर्नु आफैँमा एउटा चमत्कार भए । तर, त्योभन्दा ठुलो परिवर्तन ३६ वर्षीय मधेशी मूलका युवा बालेन्द्र साहको प्रधानमन्त्रीका रूपमा उदय हुनु हो। यसले नेपाली राजनीतिमा रहेको “क्षेत्रीय र जातीय पूर्वाग्रह” को पर्खाल भत्काइदिएको छ। एउटा मधेशी मूलको युवालाई पहाड, हिमाल र तराईले साझा नेता मान्नु नेपालको वास्तविक भावनात्मक एकीकरणको सङ्केत रहेको देखियो । कुनै मधेशी प्रथमपटक नेपालीको प्रधानमन्त्री बने ।
परम्परागत दलमा समावेशिताको बाढी:
नेपाली कांग्रेस जस्तो पुरातनवादी संरचना भएको दलमा भीष्मराज आङ्देम्बे संसदीय दलको नेता चयन हुनु र राई समुदायबाट प्रवक्ता बन्नुले दलभित्रको आन्तरिक लोकतन्त्र र समावेशिताको नयाँ युग सुरु भएको आभास देखिन्छ । परिवर्तनलाई आत्मसात गरेको देखिन्छ ।
एमालेको रूपान्तरण:
नेकपा (एमाले) मा वर्षौँदेखि कायम रहेको खस-आर्यको ८५ प्रतिशत वर्चस्वलाई चिर्दै रामबहादुर थापा मगर संसदीय दलको नेता बन्नु तथा कावा अध्यक्ष हुनु अर्को आश्चर्यजनक र सकारात्मक परिदृश्य हो। यसले वामपन्थी राजनीतिमा पनि अनुहार मात्र होइन, विचारको समावेशीकरण अनिवार्य भएको सन्देश दिएको देखिन्छ ।
सामाजिक न्यायको पराकाष्ठा:
श्रमसंस्कृति पार्टीले एक मधेशी महिला (नाई-हजाम समुदाय) लाई उपसभामुख बनाउनुले “भुइँमान्छेको राजनीति” अब नारामा मात्र सीमित छैन भन्ने पुष्टि गरेको छ । त्यस्तै, राप्रपाले जुम्लेली युवा ज्ञानेन्द्र शाहीलाई नेता मानेर युवा ऊर्जालाई स्वीकार गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी
आफुलाई परिवर्तनकारी भन्ने पुष्पकमल दाहालका पार्टीले यथास्थितिवादी नै रहे । परिणामस्वरूप,पार्टी नै चोकटिए ।
परिवर्तनको पराकम्प: किन ढले पुराना किल्लाहरू?
२०८२ को यो परिवर्तनले एउटा स्पष्ट सन्देश दिए -“परिवर्तनलाई आत्मसात् नगर्नेहरू इतिहासको गर्तमा विलीन हुन्छन्।” नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका शक्तिहरू जो यथास्थितिमै रमाइरहे र पुरानै शैलीको गुटबन्दीमा अल्झिए, उनीहरूलाई जनताले निर्ममतापूर्वक अस्वीकार गरेको देखिए ।
जेनजी आन्दोलन र निर्वाचनले सामाजिक न्यायको परिभाषा बदलेको देखिन्छ । अब न्याय भनेको कागजमा लेखिएको अधिकार मात्र होइन, राज्यको माथिल्लो निकायमा भएको अनुहारको विविधता र कार्यशैलीको पारदर्शिता पनि हो। नवयुवा पुस्ताले ‘हुने खाने’ र ‘हुँदा खाने’ बीचको खाडल पुर्नका लागि अविस्मरणीय बलिदान दिए, त्यसको प्रतिफल समावेशी सत्ता समीकरणमा परिणत भए ।
निष्कर्ष: नव नेपालको सुरुवात
राजनीतिक इतिहासको यो खोतल्ने प्रयासले,नेपाल अब पुरानो ढर्राबाट चल्न सक्दैन भन्ने डंकामा चोट दिई प्रष्टाई दिएको छ ।
२०८२ सालको परिवर्तनका मुख्य आधारस्तम्भहरु देहाय बमोजिम रहेका छन् –
१. योग्यता र युवा शक्ति: उमेर र अनुभवको पुरानो मापदण्डलाई ‘क्षमता र भिजन’ ले विस्थापित गरेको छ। ३६ वर्षको युवाले देश हाँक्न सक्छ भन्ने आत्मविश्वास नेपाली जनतामा पलाएको छ।
२. यथार्थपरक समावेशिता: खस-आर्य, जनजाति, मधेशी र दलितको प्रतिनिधित्व अब कृपाको विषय नभई,यो अधिकार र आवश्यकता बनेको छ । राज्यका प्रमुख अङ्गहरूमा देखिएको यो विविधताले राष्ट्रिय एकतालाई झन् बलियो बनाएको छ।
३. वास्तविक जवाफदेहिता:परिवर्तनको आत्मसात् नगर्ने दलहरू सखाप हुनुले के प्रष्टिन्छ भने, जनता अब दलको लास र दास होइनन्, उनीहरू सेवाका मुख्य साधक हुन्। काम नगर्नेलाई बिदाइ गर्ने साहस नेपाली मतदाताले देखाएकै छन्।
अन्त्यमा, २०८२ सालको यो राजनीतिक दृश्य परिदृश्य नेपालको इतिहासकै सुनौलो अक्षरले लेखिने अध्याय हुन । यो परिवर्तनको लहरले केवल सत्ताको अनुहार फेरेको छैन कि यसले हरेक नेपालीको मनमा “मेरो देशमा मेरो भविष्य छ” भन्ने आशाको दियो बाल्न सफल भएको छ। अबको चुनौती भनेको यो प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन र आर्थिक समृद्धिको मार्गमा देशलाई अगाडि बढाउनु नै विकल्पहीन विकल्प हुन । इतिहासले प्रमाणित गरेको छ कि जब युवा जाग्दछ, तब देशको भाग्य र भविष्य दुवै बदलिन सक्छ।
*संयमित भई मुलुक निर्माणको परमपवित्र यज्ञका यज्ञी बनौं।*






