‘व्यवसायीहरूको मतबाट निर्वाचित नेतृत्वमाथिको प्रहार सम्पूर्ण मेनपावर व्यवसायीमाथिको आक्रमण हो’- अध्यक्ष दीपक थापा

‘व्यवसायीहरूको मतबाट निर्वाचित नेतृत्वमाथिको प्रहार सम्पूर्ण मेनपावर व्यवसायीमाथिको आक्रमण हो’- अध्यक्ष दीपक थापा

काठमाडौं १६ जेष्ठ

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ नेतृत्वविरुद्ध पछिल्लो समय भइरहेको भ्रमपूर्ण प्रचार, अफवाह र संस्थागत अस्थिरता सिर्जना गर्ने गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ।

एशोसियसनका अध्यक्ष दीपक थापाद्वारा जारी विज्ञप्तिमा केही स्वार्थसमूह, सिन्डिकेटधारी प्रवृत्ति तथा व्यवसायीविरोधी गिरोहहरूले सामाजिक सञ्जाल र अनधिकृत माध्यममार्फत वैदेशिक रोजगार व्यवसायीहरूलाई भ्रमित पार्ने, संघभित्र कृत्रिम विवाद सिर्जना गर्ने तथा वैधानिक नेतृत्वमाथि प्रश्न उठाउने प्रयास गरिरहेको उल्लेख गरिएको छ।

थापाले व्यवसायीहरूको लोकतान्त्रिक मतबाट निर्वाचित नेतृत्वमाथि अनावश्यक विवाद सिर्जना गर्नु सम्पूर्ण व्यवसायी समुदायको भावना, मताधिकार र संस्थागत प्रणालीमाथिको प्रहार भएको बताएका छन्। उनका अनुसार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वर्तमान नेतृत्व कानुनी, संस्थागत तथा लोकतान्त्रिक प्रक्रियाबाट स्थापित भएकाले त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य हुन सक्दैन।

एशोसियसनले विशेष रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष भुवन सिंह गुरुङलाई सम्बोधन गर्दै संघ सञ्चालनसम्बन्धी आधिकारिक पत्राचार गरिसकेको अवस्थामा समेत केही पक्षले त्यसको तोडमोड गरिएको व्याख्या गर्दै भ्रम फैलाइरहेको जनाएको छ। विज्ञप्तिमा प्रशासनको पत्रको मर्म संघलाई विधान, कानुन र संस्थागत प्रक्रियाअनुसार सञ्चालन गर्न निर्देशन दिनु रहेको उल्लेख गर्दै त्यसलाई अन्यथा अर्थ्याइनु नियोजित भ्रम सिर्जना गर्ने प्रयास भएको दाबी गरिएको छ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनले अध्यक्ष गुरुङको नेतृत्वलाई प्रारम्भदेखि नै समर्थन गर्दै आएको जनाएको छ। गत निर्वाचनमा गुरुङलाई एशोसियसनकै आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारिएको र लोकतान्त्रिक समूहको बहुमत प्यानल विजयी भएको स्मरण गराउँदै एशोसियसनले वर्तमान नेतृत्व व्यवसायीहरूको स्पष्ट जनादेशबाट स्थापित भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “समस्त वैदेशिक रोजगार व्यवसायीहरूको मतबाट निर्वाचित अध्यक्ष भुवन सिंह गुरुङको नेतृत्वलाई नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनको पूर्ण समर्थन छ। वैधानिक नेतृत्व र व्यवसायीहरूको साझा हितको पक्षमा हामी दृढतापूर्वक उभिएका छौं र आगामी दिनमा पनि उभिरहनेछौं।”

एशोसियसनले केही व्यक्तिहरू व्यक्तिगत स्वार्थका कारण आफू निर्वाचित भएको समूह र व्यवसायीहरूको जनादेशविरुद्ध उभिएको आरोप पनि लगाएको छ। स्रोतका अनुसार लोकतान्त्रिक समूहबाट निर्वाचित भएका महासचिव महेश बस्नेत तथा सचिवसहित केही पदाधिकारीहरूले पछिल्लो समय अध्यक्ष गुरुङलाई अपेक्षित सहयोग नगरेको भन्दै व्यवसायी वृत्तमा चर्चा भइरहेको छ। एशोसियसनले महासचिव बस्नेतलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको जनाएको छ।

अध्यक्ष थापाले वैदेशिक रोजगार क्षेत्र अहिले नीतिगत अन्योल, प्रशासनिक दबाब, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, श्रम गन्तव्य मुलुकहरूमा देखिएका परिवर्तन तथा आर्थिक चुनौतीसँग जुधिरहेको अवस्थामा व्यवसायीहरूबीच कृत्रिम विभाजन सिर्जना गर्ने कार्यलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

“आजको आवश्यकता व्यवसायीहरूलाई विभाजित गर्नु होइन, एकताबद्ध बनाउनु हो। मेनपावर व्यवसायीहरू अनेक चुनौतीसँग संघर्ष गरिरहेका बेला संस्था कमजोर बनाउने, भ्रम फैलाउने र नेतृत्वमाथि नियोजित प्रहार गर्ने गतिविधि सम्पूर्ण क्षेत्रकै हितविपरीत छ,” थापाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले संघ कुनै व्यक्ति वा सीमित समूहको निजी सम्पत्ति नभई हजारौं वैदेशिक रोजगार व्यवसायीहरूको योगदान, संघर्ष र विश्वासबाट निर्माण भएको साझा संस्था भएकाले यसको वैधानिकता र गरिमामाथि आक्रमण गर्ने जोसुकैविरुद्ध एशोसियसन सशक्त रूपमा उभिने चेतावनी दिएका छन्।

विज्ञप्तिमा केही सिन्डिकेटधारी समूहले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर व्यवसायीहरूलाई त्रसित र भ्रमित बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै यस्ता गतिविधि अब धेरै समय नटिक्ने दाबी गरिएको छ। व्यवसायी समुदायले वास्तविकता बुझिसकेको र व्यक्तिगत स्वार्थका लागि संस्थागत अस्थिरता सिर्जना गर्ने प्रवृत्तिलाई अस्वीकार गर्ने विश्वास पनि एशोसियसनले व्यक्त गरेको छ।

अन्त्यमा एशोसियसनले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई अफवाह, भ्रम र स्वार्थप्रेरित प्रचारको पछि नलाग्न आग्रह गर्दै वैधानिक नेतृत्व, संस्थागत एकता तथा व्यवसायीहरूको साझा हितको पक्षमा उभिन आह्वान गरेको छ। अध्यक्ष थापाले वैदेशिक रोजगार क्षेत्रको सम्मान, व्यवसायीहरूको अस्तित्व र संस्थागत गरिमाको रक्षाका लागि सम्पूर्ण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।