रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद, प्रहरी–स्थानीयबीच झडपपछि अश्रुग्यास प्रहार

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद, प्रहरी–स्थानीयबीच झडपपछि अश्रुग्यास प्रहार

प्रेमचन्द्र झा /जेष्ठ २८ रौतहट

बौधीमाई नगरपालिका–७ स्थित बडा बंकुल क्षेत्रमा भारततर्फ अवैध रूपमा निकासी गर्ने उद्देश्यले लुकाइछिपाइ राखिएको ठूलो परिमाणको फर्सीको बिउ प्रहरीले बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको छापामार कारबाहीका क्रममा करिब ९० लाख १६ हजार रुपैयाँ मूल्य बराबरको फर्सीको बिउ नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त क्षेत्रमा अवैध रूपमा कृषि उत्पादन संकलन गरी सीमापार तस्करी गर्न लागिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि सुरक्षा निकायको संयुक्त टोलीले निगरानी बढाएको थियो। सोही सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा विभिन्न स्थानमा लुकाएर राखिएको ३२२ बोरा फर्सीको बिउ फेला परेको हो। बरामद गरिएको बिउको कुल तौल १२ हजार ८८० किलोग्राम रहेको जनाइएको छ।

सुरक्षा स्रोतका अनुसार बरामद गरिएको फर्सीको बिउ भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारी भइरहेको आशंका गरिएको छ। सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समय कृषि उपज तथा बिउबिजनको अवैध ओसारपसार बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको छ।

बरामद सामग्री नियन्त्रणमा लिने क्रममा भने स्थिति तनावपूर्ण बनेको थियो। स्थानीयवासीको एक समूहले प्रहरीको कारबाहीप्रति विरोध जनाउँदै ढुंगामुढा गरेपछि केही समयका लागि अवस्था तनावग्रस्त बनेको बताइएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि ६ राउण्ड अश्रुग्यास प्रहार गरेका थिए।

झडपका क्रममा तीन जना स्थानीयवासी तथा तीन जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनास्थितिलाई थप बिग्रन नदिन सुरक्षाकर्मीले अतिरिक्त सुरक्षा व्यवस्था मिलाएको थियो।

प्रहरीले बरामद गरेको फर्सीको बिउ आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा राजस्व सम्बन्धी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको जनाएको छ। घटनामा संलग्न व्यक्ति तथा तस्करी सञ्जालको पहिचान गर्न अनुसन्धान जारी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा निगरानी अझ प्रभावकारी बनाइने जनाएको छ। साथै, कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा अनुसन्धानमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरिएको छ।

रौतहटसहित तराईका सीमावर्ती जिल्लाहरूमा कृषि उपज, खाद्यान्न, बिउबिजन तथा अन्य सामग्रीको अवैध ओसारपसार हुने गरेको गुनासो बेला–बेलामा उठ्दै आएको छ। सुरक्षा निकायले पछिल्ला महिनाहरूमा यस्ता गतिविधिविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। यस घटनाले सीमाक्षेत्रमा तस्करी नियन्त्रणको चुनौती अझ स्पष्ट रूपमा उजागर गरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।