पोखरियामा भव्य रूपमा मनाइयो १२औं अन्तर्राष्ट्रिय योग दिवस

३५० भन्दा बढी सहभागी, “स्वस्थ वृद्धावस्थाका लागि योग” सन्देश प्रवाह

वीरगञ्ज ४ असार

भारतको महावाणिज्य दूतावास, वीरगञ्जले पोखरिया नगरपालिका तथा रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा पर्साको श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियामा १२औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न गरेको छ। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल विषयसहित आयोजित कार्यक्रममा विद्यार्थीसहित ३५० भन्दा बढी योगप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
महावाणिज्य दूतावासद्वारा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सञ्चालन गरिएको कार्यक्रम शृङ्खला अन्तर्गत यो चौथो कार्यक्रम रहेको जनाइएको छ।

कार्यक्रममा योग मार्फत स्वास्थ्य, मानसिक शान्ति, सद्भाव तथा समग्र कल्याणको सन्देश प्रवाह गरिएको थियो। विशेषगरी विद्यार्थीहरूलाई सानै उमेरदेखि योगको महत्व र यसबाट प्राप्त हुने शारीरिक तथा मानसिक लाभ बारे जानकारी गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल रहनुभएको थियो। त्यसैगरी पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उप–प्रमुख तथा पूर्व नगरप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत देवी सहाय मीनाले योगलाई स्वस्थ जीवन, सकारात्मक सोच र समग्र कल्याणको आधारका रूपमा दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले योग केवल व्यायाम नभई जीवनशैली भएको उल्लेख गर्दै सबैलाई नियमित योग अभ्यास गर्न आग्रह गर्नुभयो।

प्रमुख अतिथि श्याम प्रसाद पटेल तथा नगरप्रमुख चौहानले विभिन्न स्थानमा रोगसम्बन्धी कार्यक्रम आयोजना गरी जनचेतना फैलाउने महावाणिज्य दूतावासको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा स्वास्थ्यप्रति सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्य सामूहिक योग अभ्यास तथा दैनिक जीवनमा योगलाई समावेश गर्ने सामूहिक प्रतिबद्धतासहित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।