कार्यवाहक नगरप्रमुख आलमको एक्सन : वीरगन्जका बजार क्षेत्रमा धमाधम फोहोर व्यवस्थापन र नाला सफाइ
कार्यवाहक नगरप्रमुख आलमको एक्सन : वीरगन्जका बजार क्षेत्रमा धमाधम फोहोर व्यवस्थापन र नाला सफाइ

वीरगन्ज १३ असार
वीरगन्ज महानगरपालिका का कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर उठाउने तथा जाम भएका नालाहरू खोल्ने कार्य तीव्र पारिएको छ।
महानगरको प्रमुख व्यापारिक केन्द्र मानिने अलखियामठ, आदर्शनगर लगायतका क्षेत्रमा केही समयदेखि फोहोर थुप्रिने र नाला जाम हुने समस्या बढ्दै गएपछि स्थानीयवासी तथा व्यवसायीहरूले सास्ती खेप्दै आएका थिए। बढ्दो जनगुनासोलाई मध्यनजर गर्दै कार्यवाहक नगरप्रमुख आलमले महानगरको सरसफाइ शाखा र प्राविधिक टोलीलाई तत्काल फिल्डमा खटिन निर्देशन दिनुभएको हो।
निर्देशनलगत्तै महानगरपालिकाको सरसफाइ टोली आवश्यक उपकरण तथा सवारीसाधनसहित बजार क्षेत्रमा परिचालित भएको छ। सडक, गल्ली तथा सार्वजनिक स्थानमा थुप्रिएका फोहोरहरू संकलन गरी तीव्र रूपमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ।
त्यसैगरी, वर्षायाममा पानी जम्ने समस्यालाई ध्यानमा राख्दै जाम भएका नालाहरू सफा गर्ने, ढलको निकास खुलाउने तथा थुनिएको पानी हटाउने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।
कार्यवाहक नगरप्रमुख आलमको सक्रियता पछि बजार क्षेत्रको वातावरणमा सुधार आउन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको कदमको प्रशंसा गरेका छन्।
महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर तथा दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, जथाभाबी फोहोर नफाल्न र नालामा अवरोध पुग्ने सामग्री नराख्न नगरबासीहरूलाई आग्रह समेत गरिएको छ।






