ऐलानी जग्गामा तारबार सहित वृक्षारोपण : वातावरण संरक्षण र कानुनी व्यवस्थापनतर्फ महत्वपूर्ण कदम

ऐलानी जग्गामा तारबार सहित वृक्षारोपण : वातावरण संरक्षण र कानुनी व्यवस्थापनतर्फ महत्वपूर्ण कदम

वीरगञ्ज १६ असार

वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै डिभिजन वन कार्यालय पर्साले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत जिराभवानी गाउँपालिका–४ स्थित ऐलानी जग्गामा तारबारसहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वातावरणीय सन्तुलन कायम गर्नुका साथै सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले वृक्षारोपण केवल बिरुवा रोप्ने अभियान मात्र नभई भावी पुस्ताका लागि स्वच्छ वातावरण सुरक्षित गर्ने दीर्घकालीन दायित्व भएको बताए। उनले वन विनाश, जलवायु परिवर्तन, तापक्रम वृद्धि तथा प्राकृतिक विपद्का चुनौती बढिरहेका बेला यस्ता अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै सार्वजनिक तथा ऐलानी जग्गाको संरक्षण राज्य र नागरिक दुवैको साझा जिम्मेवारी भएको बताए। वन ऐन तथा वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्थाले समेत वन क्षेत्र विस्तार, जैविक विविधता संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

कार्यक्रममा डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहरुम राउत गदी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका थिए।

आयोजकका अनुसार ऐलानी जग्गामा अतिक्रमण रोक्न, भू–क्षय नियन्त्रण गर्न, जैविक विविधता जोगाउन तथा हरित क्षेत्र विस्तार गर्ने उद्देश्यले तारबारसहित वृक्षारोपण गरिएको हो। वन क्षेत्र विस्तारले वातावरणीय सन्तुलन कायम राख्नुका साथै वर्षा चक्र सन्तुलित बनाउन, प्रदूषण न्यूनीकरण गर्न र वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले पनि यस्ता अभियानले गाउँ–समाजमा हरियाली बढाउनुका साथै वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।