वडा अध्यक्ष नवलकिशोर कलवार र नगर नेतृत्वबीच विवादको असर : तीन वर्षदेखि ठप्प वडा कार्यालय खुलाउन ५ दिने अल्टिमेटम

वडा अध्यक्ष नवलकिशोर कलवार र नगर नेतृत्वबीच विवादको असर : तीन वर्षदेखि ठप्प वडा कार्यालय खुलाउन ५ दिने अल्टिमेटम

पर्सा ११ साउन

पर्सागढी नगरपालिका–६ का स्थानीयवासी, सर्वपक्षीय प्रतिनिधि तथा बुद्धिजीवीहरूले तीन वर्षदेखि प्रभावित हुँदै आएको वडा कार्यालय तत्काल सञ्चालन गर्न माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।

श्रावण ७ गते चैनपुरमा सम्पन्न वडा भेलाको सर्वसम्मत निर्णयअनुसार बुझाइएको ज्ञापनपत्रमा वडा नं. ६ का वडा अध्यक्ष नवल किशोर प्रसाद कलवार र नगर नेतृत्वबीचको समन्वय अभावका कारण नागरिकता सिफारिस, जन्म–मृत्यु तथा विवाह दर्ता, सामाजिक सुरक्षा भत्ता, बसाइँसराइ, विभिन्न सिफारिस र प्रमाणपत्रलगायतका अत्यावश्यक सेवा अवरुद्ध भएको उल्लेख गरिएको छ। ज्ञापनपत्रमा पछिल्लो तीन महिनादेखि कर्मचारीसमेत नआउँदा वडा कार्यालय पूर्ण रूपमा बन्द रहेको दाबी गरिएको छ।

सेवा बन्द हुँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, विपन्न तथा दैनिक ज्यालादारी गर्ने नागरिक सबैभन्दा बढी मारमा परेको जनाउँदै स्थानीयवासीले नगरपालिकासमक्ष सात बुँदे माग पेश गरेका छन्। उनीहरूले तत्काल सेवा सञ्चालन, आवश्यक कर्मचारी व्यवस्थापन, सेवा अवरुद्ध हुनुको छानबिन, दोषीमाथि कानुनी कारबाही तथा जनप्रतिनिधि–कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्न माग गरेका छन्।

पूर्व वडा सदस्य तथा समाजसेवी अर्जुन प्रसाद गिरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पाँच दिनभित्र वडा कार्यालय सञ्चालनमा नल्याइए योजनाबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ। ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला समन्वय समिति पर्सा तथा विभिन्न सञ्चारमाध्यमलाई समेत पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।