वनकर्मीमाथिको हिंसामा न्यायको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना, विभिन्न दललाई ज्ञापनपत्र बुझाउने अभियान जारी

वनकर्मीमाथिको हिंसामा न्यायको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना, विभिन्न दललाई ज्ञापनपत्र बुझाउने अभियान जारी

काठमाडौं १२ साउन

महोत्तरीको बर्दिवास–कालापानीमा वन कर्मचारीमाथि भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले आन्दोलनलाई निरन्तरता दिएको छ।

अभियानका केन्द्रीय संयोजक सुनील यादवको नेतृत्वमा सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिई ज्ञापनपत्र बुझाइएको हो। सभापतिलाई सम्बोधन गरिएको ज्ञापनपत्र पार्टीको मुख्य सचिवमार्फत बुझाइएको अभियानले जनाएको छ।

अभियानले सार्वजनिक गरेको कार्यक्रमअनुसार साउन १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाइनेछ भने साउन १४ गते माइतीघर मण्डलामा धर्ना दिई गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ।

ज्ञापनपत्रमा २०८३ जेठ ११ गते महोत्तरीको बर्दिवास–कालापानी क्षेत्रमा वन संरक्षण तथा अतिक्रमण नियन्त्रणको जिम्मेवारी पूरा गरी फर्किरहेका वन कर्मचारी श्वेता झा, सुमन श्रेष्ठसहित सात जनामाथि भएको आक्रमण, उनीहरूलाई घण्टौँ बन्धक बनाइएको, सरकारी गाडीमा आगजनी गरिएको तथा राष्ट्रसेवक कर्मचारीको ज्यान जोखिममा परेको घटनालाई गम्भीर रूपमा उल्लेख गरिएको छ।

अभियानले घटनाको उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन, संलग्न सबै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही, अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न, पीडित वनकर्मीको सुरक्षा तथा उपचारको व्यवस्था गर्न र वन क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षाका लागि प्रभावकारी सुरक्षा रणनीति लागू गर्न सरकारसँग माग गरेको छ।

संयोजक यादवले राष्ट्रसेवक कर्मचारीमाथिको हिंसा राज्यको कानुनी शासनमाथिको प्रत्यक्ष चुनौती भएको उल्लेख गर्दै ढिलो गरिएको न्याय न्यायको इन्कार सरह हुने भएकाले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।