लाओसको गोल्ड माइनिङ उद्योगमा नेपाली इन्जिनियर किरण शाहको ऐतिहासिक सफलता
लाओसको गोल्ड माइनिङ उद्योगमा नेपाली इन्जिनियर किरण शाहको ऐतिहासिक सफलता

लाओस १३ साउन
वैदेशिक रोजगारीलाई केवल श्रम र जीविकोपार्जनसँग मात्र जोडेर हेर्ने परम्परालाई चुनौती दिँदै नेपाली इन्जिनियर किरण शाहले लाओसको गोल्ड तथा कपर माइनिङ उद्योगमा उल्लेखनीय सफलता हासिल गरेका छन्। बाँकेको खजुरा गाउँपालिकाका शाहले दुई दशकभन्दा बढी समयदेखि विश्वस्तरीय माइनिङ तथा ऊर्जा क्षेत्रमा नेतृत्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली इन्जिनियरहरूको क्षमता स्थापित गरेका छन्।
हाल फर्स्ट सर्भिस माइनिङ एण्ड इनर्जी लाओसका प्रमुख कार्यकारी अधिकृत (CEO) रहेका शाह सन् २००६ मा एक अष्ट्रेलियन कम्पनीमार्फत इन्जिनियरका रूपमा लाओस पुगेका थिए। प्रारम्भिक चरणमा विभिन्न अन्तर्राष्ट्रिय माइनिङ तथा ऊर्जा परियोजनामा प्राविधिक जिम्मेवारी सम्हालेका उनले निरन्तर अध्ययन, अनुभव र नेतृत्व क्षमताका आधारमा विश्वस्तरीय माइनिङ उद्योगमा आफ्नो अलग पहिचान बनाउन सफल भएका हुन्।
शाहले हालसम्म तीनवटा गोल्ड तथा कपर प्रशोधन प्लान्टको डिजाइन, इन्जिनियरिङ व्यवस्थापन, निर्माण तथा सफल सञ्चालनको नेतृत्व गरिसकेका छन्। माइनिङ क्षेत्रमा एउटा मात्र प्रशोधन प्लान्ट सफलतापूर्वक निर्माण गर्नु पनि ठूलो उपलब्धि मानिने अवस्थामा लगातार तीन परियोजनाको सफल नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा हेरिएको छ।
उनका अनुसार आधुनिक माइनिङ उद्योग केवल खनिज उत्खननमा सीमित नभई भूगर्भीय अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड, अत्याधुनिक प्रविधि र दक्ष व्यवस्थापनको समन्वयमा आधारित हुन्छ।
“धेरैले माइनिङ भनेको जमिन खनेर सुन निकाल्ने मात्र हो भन्ने सोच्नुहुन्छ, तर वास्तविकता त्योभन्दा धेरै फरक छ। सफल माइनिङ परियोजनामा सयौँ विशेषज्ञ, अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्थापन आवश्यक पर्छ,” शाहले भने।
माइनिङसँगै उनले लाओसका विभिन्न जलविद्युत् आयोजनामा पनि इन्जिनियरिङ तथा प्राविधिक व्यवस्थापनको नेतृत्व गरेका छन्। ऊर्जा र माइनिङ दुवै क्षेत्रमा समान दक्षता प्रदर्शन गर्दै उनले नेपाली इन्जिनियरहरूको अन्तर्राष्ट्रिय क्षमता प्रमाणित गरेका छन्।
नेपालमा सुन, तामा, फलाम, जस्ता लगायतका बहुमूल्य खनिजको प्रशस्त सम्भावना भए पनि स्पष्ट नीति, वैज्ञानिक अनुसन्धान, आधुनिक प्रविधि र पर्याप्त लगानीको अभावका कारण त्यसको उचित उपयोग हुन नसकेको शाहको भनाइ छ।
उनले सरकारले दीर्घकालीन योजना, लगानीमैत्री नीति र अन्तर्राष्ट्रिय प्रविधिलाई प्रोत्साहन गर्न सके नेपालमा पनि विश्वस्तरीय माइनिङ उद्योग विकास हुने विश्वास व्यक्त गरे। वैज्ञानिक ढङ्गले खानी विकास गर्न सके लाखौँ रोजगारी सिर्जना हुनुका साथै औद्योगिकीकरण, निर्यात प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने उनको धारणा छ।
विदेशमा आर्जन गरेको अनुभव नेपालमै प्रयोग गर्ने इच्छा व्यक्त गर्दै शाहले आधुनिक माइनिङ प्रविधि, अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणाली र वातावरणमैत्री अभ्यासलाई नेपालमा लागू गर्न सके प्राकृतिक स्रोतको सदुपयोगमार्फत समृद्धिको नयाँ युग सुरु गर्न सकिने बताए।
बाँकेको सामान्य परिवेशबाट सुरु भएको किरण शाहको यात्रा आज अन्तर्राष्ट्रिय माइनिङ उद्योगको नेतृत्वसम्म पुगेको छ। उनको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई विश्वमञ्चमा नेपाली इन्जिनियरहरूको क्षमता, दक्षता र नेतृत्वको सशक्त उदाहरण बनेको छ।





