बाटो साँघुरिँदै जाँदा साँघुरिएको डोम समुदायको जीवन
बाटो साँघुरिँदै जाँदा साँघुरिएको डोम समुदायको जीवन

सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकास्थित डोम समुदाय आज पनि विकास, समानता र मानवीय सम्मानको पर्खाइमै बाँचिरहेको छ। चुनावी मौसममा जनप्रतिनिधिहरुबाट विकास, अधिकार र समावेशिताका धेरै आश्वासन सुनिए पनि व्यवहारमा भने विभेद, उपेक्षा र मौनता अझै उस्तै रहेको स्थानीयवासीहरुको गुनासो छ।
स्थानीय डोम समुदायका अनुसार उनीहरुको बस्ती हुँदै राजविराजदेखि भारतको विहारसम्म जोडिने सार्वजनिक बाटो आजभन्दा करिब पचास वर्षअघि दुई वटा बैलगाडी सहजै गुड्ने चौडाइको थियो। तर समय बित्दै जाँदा गाउँका केही धनी तथा सामन्ती प्रवृत्तिका व्यक्तिहरुले विस्तारै सार्वजनिक बाटो अतिक्रमण गर्दै लगेपछि अहिले त्यो बाटो साँघुरिएर एक जनाले मात्र हिँड्न सक्ने “सिंगल बाटो” मा सीमित भएको उनीहरुको आरोप छ।उक्त बाटो साँघुरिएसँगै डोम समुदायले दैनिक रूपमा अपमान, गालीगलौज र विभेद सहनुपरेको पीडा सुनाएका छन्।
समुदायका एक स्थानीयले दुःख व्यक्त गर्दै भने,“हामीले पालेका सुंगुर हिँड्दा होस् वा हाम्रो समुदायका मानिसहरु बाटो प्रयोग गर्दा, विभिन्न किसिमका गाली, हेपाइ र अपमान सहनुपर्छ। हामी पनि यही गाउँका नागरिक हौँ, तर व्यवहार भने अझै अछुतजस्तै गरिन्छ।”
उनीहरुका अनुसार यो समस्या केवल बाटोको मात्र होइन, सामाजिक सम्मान र बाँच्न पाउने अधिकारसँग जोडिएको विषय हो। गरिबी, जातीय विभेद र सामाजिक बहिष्करणबीच बाँचिरहेको डोम समुदायले स्थानीय सरकारसँग पटक–पटक सार्वजनिक बाटो संरक्षण, सहज आवतजावत र सम्मानजनक व्यवहारको माग गरे पनि विगत एक दशकदेखि कुनै ठोस सुनुवाइ नभएको गुनासो गरेका छन्।स्थानीयवासी भन्छन्, “चुनाव आउँदा हामीलाई सम्झिन्छन्, आश्वासन दिन्छन्, तर चुनाव सकिएपछि हाम्रो पीडा कसैले सुन्दैन। विकासको भाषण धेरै हुन्छ, तर हाम्रो बस्तीमा न बाटो बन्छ, न सम्मान मिल्छ।”
विकास केवल सडक, भवन र बजेटमा सीमित नहुने सामाजिक अभियन्ताहरु बताउँछन्। वास्तविक विकास त्यतिबेला मात्र सम्भव हुन्छ, जब समाजको सबैभन्दा पछाडि पारिएको समुदायले पनि समान अधिकार, सम्मान र न्यायको अनुभूति गर्न पाउँछ।आज डोम समुदायको प्रश्न केवल एउटा बाटोको होइन, राज्यको दृष्टिकोणको पनि हो। यदि स्थानीय तहले अझै पनि उनीहरुको आवाज नसुन्ने हो भने “समृद्ध गाउँपालिका” र “समावेशी विकास” का नारा केवल भाषण र कागजमै सीमित रहने स्थानीयहरुको भनाइ छ।





