नेपाल–भारत संयुक्त टोलीद्वारा लाल बकैया नदी र बाँध निरीक्षण, बाढी तथा डुबानको जोखिम 

नेपाल–भारत संयुक्त टोलीद्वारा लाल बकैया नदी र बाँध निरीक्षण, बाढी तथा डुबानको जोखिम 

प्रेमचन्द्र झा /साउन २१  रौतहट 

रौतहट ।नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको पन्ध्रौं बैठकअन्तर्गत रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ क्षेत्रमा पर्ने लाल बकैया नदी तथा त्यससँग सम्बन्धित बाँधको संयुक्त स्थलगत निरीक्षण गरिएको छ। वर्षायाममा हुने बाढी, डुबान र नदी कटानबाट स्थानीय बस्ती तथा कृषि क्षेत्रलाई हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल र भारतका सरोकारवाला निकायबीच समन्वयात्मक पहलस्वरूप उक्त निरीक्षण सम्पन्न भएको हो।

बुधबार दिउँसो सम्पन्न निरीक्षणमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली सहभागी भएको थियो। टोलीमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिका सदस्य सन्देश कुमार राजन, विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासहित करिब ८० जनाको सहभागिता रहेको थियो।

निरीक्षणका क्रममा टोलीले लाल बकैया नदीको बहाव, नदीको सतह, बाँधको वर्तमान अवस्था, सम्भावित जोखिमयुक्त क्षेत्र तथा नदी कटान भइरहेका स्थानहरूको सूक्ष्म अध्ययन गरेको थियो। वर्षायाममा नदीको बहाव बढ्दा ईशनाथ नगरपालिका तथा आसपासका बस्तीहरूमा हुने डुबान, खेतीयोग्य जमिनमा पुग्ने क्षति तथा जनधनको सुरक्षाका विषयमा समेत छलफल गरिएको थियो।

स्थानीय जनप्रतिनिधिहरूले नदीको बहाव परिवर्तन, बाँधका केही कमजोर भाग तथा समयमै मर्मत सम्भार नहुँदा वर्षेनी स्थानीय नागरिकले भोग्दै आएको समस्याबारे टोलीलाई जानकारी गराएका थिए। उनीहरूले नदी नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण, बाँधको स्तरोन्नति तथा जोखिमयुक्त क्षेत्रमा थप संरक्षण संरचना निर्माण गर्न आग्रह गरेका थिए।

टोलीले बाँधका विभिन्न खण्डको निरीक्षण गर्दै आवश्यक मर्मत, सुदृढीकरण तथा नदी व्यवस्थापनका लागि सम्बन्धित निकायहरूबीच समन्वय गरेर आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। निरीक्षणका क्रममा बाढी पूर्वतयारी, विपद् व्यवस्थापन, उद्धार तथा राहत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विषयमा समेत सरोकारवालाबीच छलफल भएको थियो।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेका नदीहरूको व्यवस्थापन दुवै देशका लागि साझा चासोको विषय भएकाले संयुक्त समितिमार्फत नियमित अनुगमन, सूचना आदान–प्रदान तथा आवश्यक प्राविधिक समन्वयलाई निरन्तरता दिने विषयमा समेत सहभागीहरूबीच सहमति भएको जनाइएको छ।

लाल बकैया नदीले प्रत्येक वर्ष रौतहटका विभिन्न क्षेत्रहरूमा बाढी र डुबानको समस्या निम्त्याउँदै आएको छ। विशेषगरी ईशनाथ नगरपालिका लगायत आसपासका बस्ती र हजारौं बिघा खेतीयोग्य जमिन प्रभावित हुने गरेका कारण स्थानीयवासीले प्रभावकारी नदी नियन्त्रण तथा दीर्घकालीन समाधानको माग गर्दै आएका छन्।

स्थानीय बासिन्दाले संयुक्त निरीक्षणलाई सकारात्मक कदमको रूपमा लिँदै यसपटक निरीक्षणमा सीमित नभई देखिएका समस्याको व्यावहारिक समाधानका लागि दुवै देशका सम्बन्धित निकायले शीघ्र कार्यान्वयन गर्नुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको यस प्रकारको स्थलगत निरीक्षणले सीमावर्ती क्षेत्रमा बाढी तथा डुबान नियन्त्रण, नदी व्यवस्थापन, पूर्वतयारी तथा दुवै देशबीचको प्राविधिक सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।