जनज्योति माविमा एक करोड लागतको चारकोठे भवन शिलान्यास

जनज्योति माविमा एक करोड लागतको चारकोठे भवन शिलान्यास

कपिलवस्तु २ भदौ 

विजयनगर गाउँपालिका–४ शंकरपुर–देउपुरामा रहेको जनज्योति माध्यमिक विद्यालयमा नयाँ चारकोठे भवनको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष तिलकराम कँडेल र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

पूर्वसांसद स्वर्गीय मंगलप्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट निर्माण हुन लागेको उक्त भवनको लागत करिब १ करोड रुपैयाँ रहेको छ। भवन निर्माणको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए। नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनका लागि थप सुरक्षित, व्यवस्थित र सहज वातावरण बन्ने उनको भनाइ थियो।

उपाध्यक्ष चौधरीले विद्यार्थीको चाप र विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर निर्माण हुन लागेको भवनले शिक्षण–सिकाइमा सकारात्मक प्रभाव पार्ने बताइन्। उनले भवन निर्माणको काम गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।

प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले भवन निर्माणका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए। विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुँदा शैक्षिक गुणस्तर सुधारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो।

वडा अध्यक्ष कँडेलले नयाँ भवनले विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई पठनपाठनमा थप सहजता प्रदान गर्ने बताए। उनले विद्यालयको समग्र विकासका लागि वडा तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।

विद्यालयकी प्रधानाध्यापक पम्फा कुमारी पाण्डेले नयाँ भवन निर्माणपछि विद्यालयमा लामो समयदेखि रहेको कक्षाकोठा अभावको समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताइन्। भवन निर्माणका लागि पहल तथा बजेट व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा कार्यपालिका सदस्य टंकबहादुर विश्वकर्मा, मिना सुनार, शिक्षा शाखा प्रमुख शिवकुमार चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार चाई, पूर्वअध्यक्ष खिम खत्रीलगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।