राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना

काठमाडौं, १२ वैशाख
राष्ट्रिय एकता अभियानले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको भर्त्सना गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय एकता अभियानले घटनाको घोर भर्त्सना गरेको हो । जम्मू कश्मीरको पहलगाममा आतङ्ककारीहरुले आक्रमण गर्दा एक नेपालीसहित कम्तिमा पनि २६ जना मारिएको बताइएको छ ।
‘भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाले हामी नेपाली र विश्वभरीका हिन्दु समुदाय गहिरो दुःखमा छौं । निर्दोष नागरिकको ज्यान जाने यस्ता बर्बर र अमानवीय घटनाले मानव समुदायलाई पीडित बनाएको छ । नेपाल जहिले पनि शान्ति, सहअस्तित्व र मानवअधिकारको पक्षमा उभिँदैआएको छ । यस्ता आतङ्कवादी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं । भारत सरकार र जनताप्रति यस दुःखद् घडीमा हामी पूर्व ऐक्यवद्धता प्रकट गर्दछौं,’– राष्ट्रिय एकता अभियानले भनेको छ ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले जम्मू कश्मीरमा आतङ्ककारीहरुले धर्म सोधीसोधी मारेको बताए । ती आतङ्कारीहरुको निशाना भारतमात्रै नभएर विश्वका हिन्दु समुदाय रहेको उनले बताए । ‘विश्वमा स्लामिक आतङ्कवाद बढ्दै गएको छ । त्यसबाट नेपाल अछुतो छैन । नेपाल सरकार मौन छ, प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग कुरा गरेर, समवेदना दिएर मात्रै हुँदैन । नेपालमा त्यस्ता घटना रोक्न सरकारले पहल गर्नुपर्यो,’– उनले भने ।
राष्ट्रिय एकता अभियानकी सदस्य लक्ष्मी ज्ञवाली, दयाराम पाण्डेयलगायतले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी घटनाको भर्त्सना गर्दै दुःख व्यक्त गरेका थिए ।