सोझो किसान र आधुनिक राजनीतिका चार ठग : डा.विजय दत्त

सोझो किसान र आधुनिक राजनीतिका चार ठग: डा.विजय दत्त

लोककथाको सन्दर्भ

एउटा गाउँमा चार जना चतुर ठगहरू थिए। तिनीहरूले बाटोमा हिँडिरहेका एक सोझा र इमानदार किसानलाई ठग्ने योजना बनाए।

​बिहानै किसान आफ्ना बाख्राको पाठो काँधमा हालेर बजारमा बेच्न लैजाँदै थिए। पहिलो चोकमा भेटिएको ठगले भने- “ए दाइ! यो कुकुरको छाउरा काँधमा बोकेर कहाँ हिँडेको नि ?” किसानले रिसाउँदै जबाफ दिए- “मूर्ख! यो कुकुर होइन, बाख्राको पाठो हो।”

​किसान अगाडि बढे । दोस्रो चोकमा अर्को ठगले पनि त्यही कुरा दोहोर्‍यायो। किसान फेरि रन्कियो र अघिकै जबाफ दियो। तेस्रो चोकमा तेस्रो ठगले पनि सोही प्रश्न सोध्दा किसानको मनमा अलिअलि दुविधा उब्जिन थाल्यो। अन्ततः चौथो चोकमा पुग्दा चौथो ठगले पनि दृढतापूर्वक “यो त कुकुरकै छाउरा हो” भनेपछि किसान पूर्ण रूपमा भ्रमित भयो।

निरन्तरको नियोजित दुष्प्रचार (Propaganda) सामु किसान आफ्नै आँखाको सत्य पराजित हुँदै देखे । उसले बाख्राको पाठोलाई कुकुर नै ठानेर बाटैमा छाडिदियो र रित्तो हात घर फर्कियो।

नेपाली राजनीतिक र सामाजिक सन्दर्भ:
नेपाली राजनीति र नागरिक चेतनाको वर्तमान अवस्थालाई राजनीतिक पंडित र विश्लेषकहरू यही कथासँग तुलना गर्छन्। खासगरी २०४७ सालको प्रजातान्त्रिक परिवर्तन र २०६३/६४ को राजनीतिक रूपान्तरण पश्चात् नेपाली समाज निरन्तर यस्तै मनोवैज्ञानिक र वैचारिक ठगीको शिकार हुँदै आएको छ।

नियोजित भाष्य र भ्रम(Narrative Building): चार ठगहरूले जस्तै आधुनिक राजनीतिक दल, तिनका भ्रातृ संगठन र विचार निर्माताहरूले चौतर्फी रूपमा एउटै असत्यलाई बारम्बार दोहोर्‍याएर त्यसैलाई ‘सत्य’ सिद्ध गराउने काम गरे र तदारुकताका साथ तत्पर छन्।

पंडित र बुद्धिजीवीको भ्रम:  समाजका अगुवा, राजनीतिक-सामाजिक विश्लेषक तथा ‘पंडित’ भनिने वर्ग नै यो निरन्तरको भाष्य निर्माण (Propaganda) बाट भ्रमित बने। जसरी किसानले आफ्नै काँधको पाठो चिन्न सकेन, त्यसैगरी समाजले पनि आफ्नै मौलिक हित, वस्तुगत यथार्थ र राष्ट्रिय प्राथमिकता चिन्न छाडेर ठगहरूले पढाएको भाष्यलाई नै अन्तिम सत्य मान्न बाध्य भयो।

निष्कर्ष:
राजनीतिक परिवर्तनका नाममा जनतालाई बारम्बार असम्भव सपना र भ्रमको खेती बेचिए । चौतर्फी रूपमा एउटै असत्य सुनिरहेपछि सत्य मान्छे पनि आफ्नै विवेकमाथि शङ्का गर्न थाल्छ भन्ने यो कथाले स्पष्ट पार्छ।

आजको नेपाली समाज र बौद्धिक वर्गले काँधको बाख्रोलाई कुकुर भनेर छाड्ने किसानको जस्तो नियतिबाट मुक्त हुन नियोजित प्रचार र वस्तुगत यथार्थबीचको फरक छुट्याउनु अति आवश्यक भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।