दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन

दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन

प्रेमचन्द्र झा /भदौ १९ रौतहट

बारा सिम्रौनगढ नगरपालिका–५ इटवालकी २२ वर्षीया आरती कुमारीको मृत्यु प्रकरणमा माइती पक्षले दाइजोको निहुँमा कुटपिट गरी हत्या गरेर आत्महत्या जस्तो देखाउन पंखामा झुन्ड्याइएको आरोप लगाएका छन्। घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीले हालसम्म नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले शुक्रबार गौरमा पत्रकार सम्मेलन गरी दुःख व्यक्त गरेका छन्।

मृतक आरतीका दाजु नेपाली साह तेलीले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा दिएको जाहेरीमा आरतीको हत्या भएको दाबी गर्दै उनका पति अनिष साह तेलीसहित पाँच जनाविरुद्ध अनुसन्धान र कानुनी कारबाहीको माग गरेका छन्।

जाहेरीमा सिम्रौनगढ नगरपालिका–५ इटवालका ५७ वर्षीय अनोती प्रसाद तेली, उनका छोरा २४ वर्षीय अनिष साह तेली, ५२ वर्षीया सबिता देवी, ३२ वर्षीया इन्दु देवी र २८ वर्षीया कृष्णा देवीलाई घटनामा संलग्न भएको आरोप लगाइएको छ।

माइती पक्षका अनुसार आरतीको विवाह अनिष साह तेलीसँग हिन्दु परम्पराअनुसार भएको थियो। विवाहका क्रममा माइती पक्षले तिलक र मोटरसाइकलका लागि गरी ७ लाख ५० हजार रुपैयाँ, सुनको हनुमानीलगायतका सामग्री दिएको थियो। त्यस्तै, केही दिनअघि मात्रै करिब २ लाख ५० हजार रुपैयाँ मूल्यका पलङ, कुर्सी, गद्दालगायत फर्निचरसमेत दिएको जाहेरीमा उल्लेख छ।

तर, त्यसपछि पनि ससुराली पक्षबाट बच्चाका लागि सुनको बाला माइतीबाट मागेर ल्याउन दबाब दिइएको र थप दाइजो दिन नसक्ने बताएपछि आरतीलाई मानसिक तथा शारीरिक यातना दिन थालिएको माइती पक्षको आरोप छ।

जाहेरीमा आरतीले आफूलाई ससुराली पक्षले दिएको यातनाबारे पटक–पटक फोन तथा ह्वाट्सएपमार्फत माइतीलाई जानकारी गराउने गरेको उल्लेख छ। सुरुमा सामान्य पारिवारिक विवाद होला भन्दै परिवारका सदस्यहरूले सम्झाउने प्रयास गरेको भए पनि अन्ततः घटना भएको दाबी गरिएको छ।

माइती पक्षका अनुसार २०८३ साउन २७ गते बिहान करिब ६ बजे आरतीलाई घरकै भान्सा कोठामा कुटपिट गरिएको र हातमा लगाएका चुरा फुटेको अवस्थामा भेटिएको थियो। त्यसपछि उनको हत्या गरी अर्को कोठामा रहेको सिलिङ फ्यानमा कपडा बाँधेर झुन्ड्याइएको उनीहरूको आरोप छ।
घटनाबारे आरतीका माइतीलाई तत्काल जानकारीसमेत नगराइएको जाहेरीमा उल्लेख छ।

अनोती प्रसाद तेलीका जेठा छोरा सुनिल साह मलेसियामा रहेको र उनले विदेशबाट इमोमार्फत आरतीको मृत्यु भएको जानकारी दिएको दाजु नेपाली साहले जाहेरीमा उल्लेख गरेका छन्।

माइती पक्ष घटनास्थल पुग्दा आरतीको दाहिने हातमा चुरा नरहेको, भान्सा कोठामा फुटेका चुरा भेटिएको तथा बायाँ खुट्टामा चोटको डाम देखिएको दाबी गरेको छ। शव झुन्डिएको भनिएको अवस्थामा खुट्टा पलङमा टेकिएको देखिएकाले आत्महत्या नभई हत्या भएको हुनसक्ने उनीहरूको आशंका छ।

घटनास्थलमा सामानहरू छरपस्ट अवस्थामा रहेको तथा मृतकको कपालसमेत अस्तव्यस्त देखिएको भन्दै माइती पक्षले घटनालाई आत्महत्याको रूप दिन खोजिएको आरोप लगाएको छ।

मृतकका दाजुले जाहेरीमार्फत घटनास्थल मुचुल्का, शव परीक्षण तथा पोस्टमार्टम प्रतिवेदनलगायत प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्। उनले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम कारबाही तथा दफा १८६ बमोजिम क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

यसैबीच, गौरमा आयोजित पत्रकार सम्मेलनमा मृतकका माइती पक्षले घटनामा आरोपित व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन्। जाहेरी परेको लामो समयसम्म पनि आरोपितहरूलाई नियन्त्रणमा नलिइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

माइती पक्षले आरतीको मृत्यु आत्महत्या नभई दाइजोको दबाब र पारिवारिक यातनाका कारण भएको दाबी गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।
यद्यपि, घटनाबारे प्रहरीले औपचारिक रूपमा आरोपितहरूको संलग्नता पुष्टि गरिसकेको छैन। मृतकको पोस्टमार्टम प्रतिवेदन, घटनास्थलको मुचुल्का तथा प्रहरी अनुसन्धानबाट मृत्युको वास्तविक कारण र घटनामा कसको संलग्नता थियो भन्ने तथ्य खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।