भारतीय राजदूत श्रीवास्तवको वीरगञ्ज भ्रमण : सीमा व्यापारदेखि बाढी राहतसम्म सहकार्यमा जोड
भारतीय राजदूत श्रीवास्तवको वीरगञ्ज भ्रमण : सीमा व्यापारदेखि बाढी राहतसम्म सहकार्यमा जोड

वीरगञ्ज, २७ भदौ
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले वीरगञ्ज भ्रमणका क्रममा नेपाल–भारत सीमापार व्यापार, आर्थिक सहकार्य तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन्।
सेप्टेम्बर ११ र १२ मा वीरगञ्ज भ्रमणमा आएका राजदूत श्रीवास्तवले पहिलो दिन वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गरेका थिए। उनले वीरगञ्ज भन्सार प्रमुख, टर्मिनल प्रमुखलगायत सम्बन्धित अधिकारीहरूसँग भेट गरी सीमापार व्यापार सहजीकरण र समन्वयका विषयमा छलफल गरेका थिए।
त्यसपछि उनले भारततर्फको आईसीपी रक्सौलको भ्रमण गर्दै ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया (एलपीएआई), एसएसबी, भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन तथा एफएसएसएआईका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सीमापार व्यापारलाई थप सहज र प्रभावकारी बनाउने विषयमा समीक्षा गरिएको थियो।
राजदूत श्रीवास्तवले रक्सौलस्थित भारतीय दूतावासको बंगलामा पुगेर वृक्षरोपणसमेत गरेका थिए। साँझ उनले भारत–नेपाल सहयोग मञ्च र नेपाल–भारत मैत्री संघका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरे। त्यसपछि वीरगञ्जका उद्योगपति तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, एनआईसीसीआई र एनवाईईएफका प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए।
सेप्टेम्बर १२ गते बिहान उनले वीरगञ्जका स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया गरेका थिए।
भेटघाटका क्रममा राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो तथा दिगो मित्रतामा जोड दिँदै नेपालको विकासप्रति भारतको निरन्तर प्रतिबद्धता रहेको बताएका थिए।
बाढी राहतमा भारतको सहयोग
राजदूत श्रीवास्तवले नेपालमा हालै आएको बाढीपछि भारतले उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगबारे समेत जानकारी गराएका थिए।
उनका अनुसार अगस्ट २६, २०२६ देखि भारतले नेपालका बाढी प्रभावित क्षेत्रका लागि १३० टनभन्दा बढी राहत सामग्री पठाइसकेको छ। राहत सामग्रीमा आश्रय सामग्री, कम्बल, स्वच्छता किट, सौर्य बत्ती र औषधिलगायत रहेका छन्।
भारतले राहत सामग्रीसहित भारतीय वायुसेनाका आठ वटा उडान नेपाल पठाएको तथा चिलिमे र लाङटाङ क्षेत्रमा विशेष सुरुङ उद्धार टोलीसहित ५४ जना विशेषज्ञ कर्मचारी परिचालन गरेको राजदूतले जानकारी दिए।
त्यस्तै, बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए किट र फोरेन्सिक सहयोग उपलब्ध गराइएको तथा बाढीबाट क्षतिग्रस्त सडक तथा सम्पर्क सञ्जाल पुनःस्थापित गर्न बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको उनले बताए।
राजदूतका अनुसार २३० फिट लामो पुल निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सातवटा पुलका लागि आवश्यक सामग्री नेपाल पठाइएको छ।
वीरगञ्ज भ्रमणका क्रममा राजदूत श्रीवास्तवले सीमा व्यापार, उद्योग–व्यवसाय र विपद्का समयमा हुने नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा सम्बन्धित पक्षसँग छलफल गरेका छन्।





