लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ बरामद

लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ बरामद

प्रेम चन्द्र झा /भदौ २९ रौतहट 

डिभिजन वन कार्यालय रौतहटको टोलीले लालबकैया खोलाबाट अवैध रूपमा बगाएर ल्याइएको ठूलो परिमाणको साल जातको काठ बरामद गरेको छ। वन कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त गस्ती टोलीले बुधबार राति लालबकैया खोलाको पानीमा बगाएर ल्याइएको अवस्थामा सालको काठ बरामद गरेको हो।

डिभिजन वन कार्यालयका अनुसार २०८३ साल भदौ २९ गते बिहान करिब २ बजे जङ्गलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया खोलाको गर्जा पुलदेखि करिब २०० मिटर माथिल्लो भागमा वन कर्मचारी तथा सुरक्षाकर्मीको टोलीले गस्ती तथा निगरानी गरिरहेको थियो। सोही क्रममा खोलाको पानीमा काठ बगाएर ल्याइएको देखिएपछि टोलीले तत्काल नियन्त्रणमा लिएको हो।

वन अधिकृत अनिल कुमार महतो, वन अधिकृत विनोद जेठरा र वन अधिकृत शेरबहादुर बुढाको संयुक्त गस्ती टोलीले काठ बरामद गरेपछि थप मद्दतका लागि जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी सम्मिलित टोलीसमेत घटनास्थलमा पुगेको वन कार्यालयले जनाएको छ।

बरामद काठमध्ये साल जातका गोलिया चार थान र चौपाटा एक थान गरी जम्मा पाँच थान रहेका छन्। वन कार्यालयका अनुसार बरामद काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको छ।

वन कर्मचारी तथा सुरक्षाकर्मीको टोलीलाई देखेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरूले काठ खोलामै छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको जनाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको वन कार्यालयले जनाएको छ।

बरामद काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित वन कार्यालयको नियन्त्रणमा राखिएको छ। काठ कहाँबाट कटान गरी खोलामा बगाएर ल्याइएको थियो र घटनामा कति व्यक्ति संलग्न थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

डिभिजन वन कार्यालय रौतहटले वन क्षेत्रबाट हुने अवैध कटानी, वन पैदावारको ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणका लागि गस्ती र निगरानीलाई तीव्रता दिएको जनाएको छ। वन कर्मचारी र सुरक्षाकर्मीबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै अवैध वन पैदावार नियन्त्रणमा नियमित रूपमा कारबाही अघि बढाइने कार्यालयको भनाइ छ।

लालबकैया खोलाबाट काठ बगाएर ल्याउने घटना यसअघि पनि देखिँदै आएको भन्दै वन क्षेत्रको अवैध कटानी नियन्त्रणसँगै खोलाको माध्यमबाट हुने वन पैदावार तस्करीमाथि समेत निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।