कतारको आतिथ्य क्षेत्रमा नेपालीको योगदान असाधारण छ : ह्यानी घनेम
‘नेपालीहरू संख्या मात्र होइन, नेतृत्व तहमा समेत आफ्नो क्षमता प्रमाणित गर्दैछन्’

दोहा ७ असोज
कतारको होटल तथा आतिथ्य क्षेत्रमा नेपाली जनशक्तिको योगदान पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको बेस्ट वेस्ट्रन प्लस होटल दोहाका महाप्रबन्धक ह्यानी घनेमले बताएका छन्। उनका अनुसार नेपालीहरू सामान्य कामदारको भूमिकाबाट अघि बढेर विभागीय प्रमुख, वरिष्ठ व्यवस्थापन हुँदै महाप्रबन्धक तहसम्म पुग्न थालेका छन्।
इजिप्टका नागरिक घनेम लामो समयदेखि होटल तथा आतिथ्य क्षेत्रमा सक्रिय छन्। कतारमा नेपाली समुदायसँग लामो समयदेखि निरन्तर सम्पर्क र सहकार्य गर्दै आएका उनी नेपाली संस्कृति, खानपान, संगीत, आपसी सम्मान र सामुदायिक भावनाबाट प्रभावित भएको बताउँछन्।
उनले कतारको आतिथ्य क्षेत्रमा नेपालीहरूको योगदानलाई संख्याको आधारमा मात्र नभई उनीहरूले सम्हालिरहेको जिम्मेवारी र नेतृत्व क्षमताका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताए। नेपाली दक्ष जनशक्ति कतारको आतिथ्य क्षेत्रको महत्वपूर्ण हिस्सा
घनेमका अनुसार पछिल्ला वर्षमा नेपालीहरू होटलका अतिथि सेवा, खाद्य तथा पेय, भान्सा, सरसफाइ, प्राविधिक सेवा, सुरक्षा, मानव संसाधन र खरिद व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा कार्यरत छन्।
उनले भने, “आतिथ्य क्षेत्र रोजगारी दिने मात्र होइन, सीप सिकाउने र करियर निर्माण गर्ने क्षेत्र पनि हो। यस अर्थमा नेपालीहरू कतारको आतिथ्य क्षेत्रका महत्वपूर्ण दक्ष जनशक्ति हुन्।”बेस्ट वेस्ट्रन प्लस होटल दोहामै सुरक्षा प्रमुख, मानव संसाधन प्रमुख र खरिद प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारी नेपालीहरूले सम्हालिरहेको उनले बताए। ‘नेपाली युवाले जागिर होइन, करियरलाई प्राथमिकता दिनुपर्छ’
नेपाली युवाले अन्तर्राष्ट्रिय होटल क्षेत्रमा नेतृत्व तहमा पुग्न शिक्षा, तालिम र सञ्चार सीपसँगै वित्तीय व्यवस्थापन, बजेट, बिक्री, प्रविधि तथा नेतृत्वसम्बन्धी ज्ञान हासिल गर्नुपर्ने घनेमको सुझाव छ।
उनका अनुसार एउटा विभागको काममा मात्र दक्ष भएर पुग्दैन। भविष्यमा वरिष्ठ व्यवस्थापन वा महाप्रबन्धक बन्न चाहनेले होटलका सबै विभाग र समग्र सञ्चालन प्रणालीबारे ज्ञान हासिल गर्न आवश्यक छ।
“पहिलो जागिरलाई अन्तिम गन्तव्य नसम्झनुहोस्। पहिलो जागिर करियरको सुरुवाती ढोका हो। अवसर आउँदा तयार व्यक्ति नै अगाडि बढ्न सक्छ,” घनेमले भने।एसियाना नेपाली समुदायसँग जोड्ने महत्वपूर्ण माध्यमबेस्ट वेस्ट्रन प्लस होटल दोहामा सञ्चालनमा रहेको एसियाना दोहोरी गजल रेस्टुरेन्ट नेपाली समुदायसँग होटलको सम्बन्धको महत्वपूर्ण माध्यम बनेको घनेमले बताए।
नेपाली खाना, नेपाली जनशक्ति र सांगीतिक वातावरणका कारण एसियानाले कतारमा रहेका नेपालीलाई घर र देशको अनुभूति गराउने गरेको उनको भनाइ छ। “कहिलेकाहीँ एउटा परिचित गीत, आफ्नै देशको खाना वा आफ्नै भाषामा भएको कुराकानीले हजारौँ किलोमिटरको दूरीलाई पनि छोटो बनाइदिन्छ,” उनले भने।
उनले नेपालीकै लगानीमा सञ्चालनमा रहेको टनेल क्लब दोहाले पनि नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबीच आकर्षण बढाएको बताए।
‘नेपाली संस्कृतिको सबैभन्दा मन परेको कुरा नमस्ते हो’ नेपाली संस्कृतिको कुन पक्षले बढी प्रभावित बनायो भन्ने प्रश्नमा घनेमले ‘नमस्ते’ संस्कारलाई विशेष रूपमा उल्लेख गरे।
उनका अनुसार नमस्ते केवल अभिवादन गर्ने शब्द नभई अर्को व्यक्तिको सम्मान र मर्यादालाई स्वीकार गर्ने संस्कार हो।
नेपाली साथीहरूमार्फत आफूले नेपालका परम्परा, चाडपर्व, संगीत, खानपान र सामाजिक सम्बन्धबारे धेरै कुरा सिकेको उनले बताए। नेपाली खानामध्ये आफूलाई सुकुटी विशेष मन पर्ने उनको भनाइ छ।नेपाल हिमाल मात्र होइन घनेमले नेपालको पर्यटन सम्भावना असाधारण रहेको उल्लेख गर्दै नेपाललाई हिमाल र सगरमाथामा मात्र सीमित गरेर हेर्न नहुने बताए।
उनका अनुसार नेपालको संस्कृति, सम्पदा, खानपान, अध्यात्म, साहसिक पर्यटन, वन्यजन्तु, प्राकृतिक सौन्दर्य र नेपाली जनताको आतिथ्य पनि विश्व पर्यटनका महत्वपूर्ण आकर्षण हुन्। नेपालले पर्यटन पूर्वाधार, सेवाको गुणस्तर र दक्ष जनशक्ति विकासमा थप लगानी गर्नुपर्ने उनको सुझाव छ।
नेपाल–कतार पर्यटन सहकार्यको ठूलो सम्भावना नेपाल र कतारबीच पर्यटन तथा आतिथ्य क्षेत्रमा सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, आतिथ्य तालिम, दक्ष जनशक्ति विकास तथा संस्थागत सहकार्यको ठूलो सम्भावना रहेको घनेमले बताए।
कतारमा ठूलो नेपाली समुदाय रहेको र कतार अन्तर्राष्ट्रिय हवाई सम्पर्कको महत्वपूर्ण केन्द्र बन्दै गएकाले नेपालले कतारलाई पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्न सक्ने उनको भनाइ छ।‘अब नेपालबारेको कुराकानी सफलता र सुन्दरताका विषयमा होस्’ नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै घनेमले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरे। उनले कठिन समयमा नेपालीहरूले देखाउने एकता, धैर्य र सहयोगभाव प्रशंसनीय रहेको बताए।
अन्त्यमा उनले भने, “अब नेपालका बारेमा हुने हाम्रो अर्को कुराकानी दुःख र विपत्तिका विषयमा होइन, नेपालको सुन्दरता, पर्यटन, संस्कृति र प्रतिभाशाली नेपालीका सफलताका बारेमा गर्न चाहन्छु।”
घनेमले कतारमा रहेका नेपाली समुदायप्रति आफ्नो आत्मीयता र सम्मान सधैँ कायम रहने बताउँदै आगामी दिनमा पनि नेपाली समुदायसँग सांस्कृतिक तथा व्यावसायिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।






