कांग्रेस पर्सामा नयाँ जिम्मेवारी : विजय कर्णलाई जिल्ला संयोजकको जिम्मा

कांग्रेस पर्सामा नयाँ जिम्मेवारी : विजय कर्णलाई जिल्ला संयोजकको जिम्मा

वीरगञ्ज १२ असोज

नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर आन्तरिक विवाद तथा समानान्तर गतिविधि तीव्र भइरहेका बेला पर्सा जिल्ला संयोजकको जिम्मेवारी विजय कर्णलाई दिइएको छ।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाद्वारा २०८३ असोज ३ गते हस्ताक्षरित पत्रअनुसार जिल्लाका नेता–कार्यकर्ताको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा कर्णलाई पर्सा जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।

पार्टीका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै पर्सामा संगठनलाई थप सुदृढ, व्यवस्थित र मजबुत बनाउने उद्देश्यले कर्णलाई जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

कांग्रेसभित्र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि, पार्टीको आधिकारिकता तथा आगामी महाधिवेशनको प्रक्रियालाई लिएर विवाद देखिएको छ। आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको दाबी गर्दै कोइराला नेतृत्वको तयारी समितिले समयमै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउँदै आएको छ।

यसै क्रममा कर्णलाई पर्साको संगठनात्मक तयारी तथा महाधिवेशनसम्बन्धी गतिविधिलाई जिल्लास्तरसम्म प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी दिइएको हो।

तयारी समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तथा मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।

महाधिवेशन प्रक्रियाप्रति देखिएको असहमति र पार्टीभित्रको आन्तरिक विवादका बीच संयम, धैर्य र आपसी सौहार्दका साथ लोकतन्त्रवादी शक्तिलाई समेट्दै कांग्रेसलाई सबै तहमा पुनः सबल र व्यवस्थित बनाउने लक्ष्य तयारी समितिले अघि सारेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।