नेपाली कांग्रेस पर्साका क्षेत्र नं. १ र २ मा सर्वसम्मत नेतृत्व चयन, वीरगञ्ज महानगर सभापतिमा मनोज साह
विमलेन्द्र निधि र उमाकान्त चौधरीको उपस्थितिमा अधिवेशन उद्घाटन | हरिन्द्र यादव र संजय चतुर्वेदी क्षेत्रीय सभापतिमा निर्विरोध

वीरगञ्ज, १६ कात्तिक
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सा जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ तथा विभिन्न प्रदेशसभा र नगर कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विभिन्न तहका नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्विरोध चयन भएका छन्।
वीरगञ्ज महानगरपालिका नगर कार्यसमिति, बहुदरमाई नगरपालिका नगर कार्यसमिति तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ अन्तर्गतका क्षेत्रीय एवं प्रदेशसभा क्षेत्रीय कार्यसमितिको अधिवेशन सोमबार सम्पन्न भएको हो।
नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको प्रमुख आतिथ्य तथा पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरीको विशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो। कार्यक्रम नेपाली कांग्रेस पर्साका संयोजक विजय कर्णको अध्यक्षतामा भएको थियो भने वीरगञ्ज महानगरपालिकाका संयोजक मनोज कुमार साहले सञ्चालन गरेका थिए।
उद्घाटन समारोहमा ज्ञात–अज्ञात आन्दोलनका शहीदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। राष्ट्रिय गानपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अग्रज नेताहरूले संयुक्त रूपमा अधिवेशन उद्घाटन गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री उमाकान्त चौधरी, बाराका नवनिर्वाचित सभापति राजेश राय यादव, संविधानसभा सदस्य शम्भु हजरा, वरिष्ठ नेता शम्भु चौहान, डा. कृपासिन्धु चौधरी, उत्तमा प्याकुरेल, युवा नेता रोशन लामिछाने, मनोज यादव, बैकुण्ठ श्रीवास्तव, सन्तोष चौधरीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, प्राध्यापक डा. प्रमोद कुशवाहा, वीरगञ्ज महानगरपालिकाका पूर्वउपसभापति सन्तोष गुप्ता, बहुदरमाई नगरपालिकाका संयोजक प्रकाश रौनियार, अधिवेशन तयारी समिति पर्साका सदस्य कामेश्वर मिश्र, प्रजातन्त्र सेनानी पर्साका सभापति एवं डीएलए सभापति राजनाथ ठाकुरलगायतको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा विभिन्न निर्वाचन क्षेत्रका क्षेत्रीय संयोजक, प्रदेशसभा क्षेत्रीय संयोजक, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, युवा, विद्यार्थी, पत्रकार तथा पार्टीका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा क्षेत्र नं. १ का संयोजक हरिन्द्र प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए। विभिन्न नेता तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै पार्टी संगठनको सुदृढीकरण, आपसी एकता र आगामी राजनीतिक कार्यदिशाबारे विचार व्यक्त गरेका थिए।
बन्दसत्रबाट सर्वसम्मत नेतृत्व चयन
उद्घाटन समारोह सम्पन्न भएपछि सुरु भएको बन्दसत्रबाट विभिन्न तहका पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन्।
वीरगञ्ज महानगरपालिका नगर कार्यसमिति
- सभापति: मनोज कुमार साह
- सचिव: आदित्य उपाध्याय
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १
- क्षेत्रीय सभापति: हरिन्द्र प्रसाद यादव
- प्रदेशसभा क्षेत्र (क) सभापति: पुरुषोत्तम प्रसाद पटेल
- प्रदेशसभा क्षेत्र (ख) सभापति: दिपेन्द्र प्रसाद कानु
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २
- क्षेत्रीय सभापति: संजय कुमार चतुर्वेदी
- प्रदेशसभा क्षेत्र (क) सभापति: सन्दीप कुमार साह तेली
- प्रदेशसभा क्षेत्र (ख) सभापति: विकास उपाध्याय
बहुदरमाई नगरपालिका नगर कार्यसमिति
- सभापति: प्रकाश रौनियार
संगठनात्मक एकता बलियो बनाउने अपेक्षा
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएपछि नेपाली कांग्रेस पर्साको संगठनात्मक एकता, सहकार्य र सुदृढीकरणमा थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीको विचार, सिद्धान्त तथा आदर्शलाई जनस्तरसम्म पुर्याउँदै संगठन विस्तार र जनताको सेवामा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, सहमति र सहकार्यको सन्देश दिएको सहभागी नेताहरूले बताएका छन्। नवनिर्वाचित सभापति तथा पदाधिकारीहरूलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।






