२९ वर्ष खाडीमा पसिना बगाएका चानक पोखरेलद्वारा प्रवासी नेपाली मञ्चको नेतृत्वमा दावी किन ?

काठमाडौं १९ कार्तिक

प्रवासमा नेपाली श्रमिकका समस्या किताबमा पढेर होइन, २९ वर्षसम्म आफैंले भोगेर र नजिकबाट नियालेर आएका चानक पोखरेल अहिले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नेतृत्वका लागि मैदानमा उत्रिएका छन्। लामो समय खाडीमा बिताएका पोखरेलले प्रवासी जीवनको संघर्ष, श्रमिकका समस्या र संगठन निर्माणको अनुभवलाई अब अन्तर्राष्ट्रिय नेतृत्वमार्फत परिणाममा बदल्ने प्रतिबद्धतासहित अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। पोखरेलसँगै अमेरिकाबाट प्रभुराम थापाले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेतृत्वका आकांक्षीहरूबीच प्रतिस्पर्धा भइरहँदा पोखरेलले भने आफ्नो उम्मेदवारीलाई पदको आकांक्षाभन्दा पनि २९ वर्षको प्रवासी अनुभव, संगठनभित्रको जिम्मेवारी र श्रमिकका वास्तविक समस्यासँग जोडिएको नेतृत्वको प्रस्तावका रूपमा अघि सारेका छन्।

पोखरेलको राजनीतिक तथा सांगठनिक यात्राको महत्वपूर्ण पक्ष भनेकै प्रवासमा लामो समय बिताएको अनुभव हो। खाडी मुलुकमा नेपाली श्रमिकले भोग्ने कठिनाइ, रोजगारीको असुरक्षा, श्रम शोषण, पारिश्रमिक, सामाजिक सुरक्षा, कानुनी समस्या र सम्मानजनक श्रम वातावरणका सवाललाई उनले नजिकबाट देखेका छन्। यही अनुभवलाई उनले आफ्नो नेतृत्वको प्रमुख आधार बनाएका छन्।

उनको स्पष्ट धारणा छ,विदेशमा पसिना बगाउने नेपालीको आवाज संगठनको मूल आवाज बन्नुपर्छ। श्रमिकका समस्या व्यक्तिगत गुनासोका रूपमा होइन, संस्थागत मुद्दाका रूपमा उठाउनुपर्छ। सम्बन्धित सरकार, रोजगारदाता र सरोकारवाला निकायसँग प्रभावकारी संवाद र दबाबमार्फत श्रमिकको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न संगठनले अग्रणी भूमिका खेल्नुपर्ने उनको प्रतिबद्धता छ।

पोखरेलले आफ्नो अभियानमा ‘श्रमिकको आवाज, प्रवासीको अधिकार’लाई प्रमुख नाराका रूपमा अघि सारेका छन्। विदेशमा रहेका नेपालीको पीडा बुझ्ने नेतृत्वका लागि प्रवासको वास्तविक अनुभव आवश्यक रहेको उनको बुझाइ छ। त्यसैले आफूले खाडीमा बिताएको लामो समयलाई नेतृत्वका लागि महत्वपूर्ण अनुभवका रूपमा उनले प्रस्तुत गरेका छन्।

उनको एजेन्डा श्रमिकमा मात्र सीमित छैन। विश्वभर छरिएर रहेका नेपालीको अधिकार, पहिचान र भविष्यलाई समेत उनले नेतृत्वको प्राथमिकतामा राखेका छन्। लाखौ प्रवासी नेपालीसँग जोडिएका सवाललाई संगठनको केन्द्रीय मुद्दा बनाउने उनको प्रतिबद्धता छ। प्रवासी नेपाली मञ्चलाई राजनीतिक संगठनको सीमाभन्दा माथि उठाएर श्रमिक, व्यवसायी, पेशाकर्मी, विद्यार्थी र नयाँ पुस्तासहित प्रवासमा रहेका नेपालीको साझा सरोकारको प्रभावकारी मञ्च बनाउने उनको लक्ष्य छ।

विशेषगरी वंशजको नागरिकताको निरन्तरतालाई पोखरेलले महत्वपूर्ण मुद्दाका रूपमा उठाएका छन्। विदेशमा जन्मिएका नेपालीका सन्तानको नेपाली पहिचान र अधिकारको संरक्षण, वंशजको नागरिकतासँग जोडिएका कानुनी तथा व्यवहारिक समस्या समाधान र प्रवासी नेपालीका अधिकारका लागि राज्यसँग प्रभावकारी पहल गर्ने उनको प्रतिबद्धता छ।

प्रवासमा नेपालीको संख्या बढ्दै जाँदा उनीहरूको भूमिका पनि बदलिँदै गएको छ। श्रमका लागि विदेश जाने नेपालीसँगै व्यवसाय, प्रविधि, शिक्षा, स्वास्थ्य, वित्त, अनुसन्धान र विभिन्न पेशामा विश्वभर स्थापित नेपालीको संख्या बढिरहेको छ। यस्तो अवस्थामा प्रवासी नेपालीसँग रहेको ज्ञान, सीप, पुँजी र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने पोखरेलको धारणा छ।

संगठन सुदृढीकरण पनि उनको अर्को प्रमुख प्राथमिकता हो। विश्वका विभिन्न देशमा फैलिएको मञ्चलाई अझ व्यवस्थित, एकताबद्ध, अनुशासित र परिणाममुखी बनाउने उनको प्रतिबद्धता छ। संगठनको नेतृत्व र सदस्यबीचको दूरी घटाउँदै प्रवासी नेपालीका वास्तविक समस्या सुन्ने र समाधानका लागि पहल गर्ने संरचना निर्माण गर्नुपर्ने उनको जोड छ।

पोखरेलले आफ्नो अपिलमा ‘अनुभवबाट नेतृत्व, प्रतिबद्धताबाट परिवर्तन’को अवधारणा अघि सारेका छन्। श्रमिकको पीडा बुझ्ने, प्रवासीको अधिकारका लागि बोल्ने र संगठनलाई परिणाममुखी बनाउने नेतृत्व आवश्यक रहेको बताउँदै उनले आफूलाई अवसर दिन प्रतिनिधिहरूसमक्ष अपिल गरेका छन्।

प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीमा सचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेल संगठनको विभिन्न तहमा सक्रिय रहँदै आएका छन्। मध्यपूर्वमा लामो समयको अनुभवसँगै संगठनभित्रको जिम्मेवारीले उनलाई प्रवासी नेपाली मञ्चको नेतृत्वका लागि दाबी गर्ने आधार दिएको छ।

यता अमेरिकाबाट प्रभुराम थापाले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। संगठनभित्र लामो समयदेखि सक्रिय थापाले संगठन सुदृढीकरण, संस्थागत पारदर्शिता, श्रमिक अधिकार, वंशजको नागरिकताको निरन्तरता, प्रवासी नेपालीको मतदान अधिकार, नयाँ पुस्ताको सहभागिता तथा प्रवासको ज्ञान, सीप र पुँजी नेपालमा परिचालनका विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।

यसले यसपटकको निर्वाचनलाई व्यक्तिको प्रतिस्पर्धाभन्दा पनि प्रवासी नेपाली मञ्चलाई आगामी चरणमा कुन मुद्दा र कुन कार्यदिशाबाट अघि बढाउने भन्ने बहसका रूपमा समेत स्थापित गरेको छ। पश्चिमी मुलुकमा संगठन विस्तारको अनुभव बोकेका नेतृत्व आकांक्षी र मध्यपूर्वमा २९ वर्ष श्रमिक तथा प्रवासी जीवनसँग जोडिएका पोखरेलबीचको प्रतिस्पर्धाले फरक–फरक अनुभव र प्राथमिकतालाई प्रतिनिधित्व गर्ने देखिएको छ।

अधिवेशनका लागि कुल ३३७ प्रतिनिधि सदस्य रहेको र सहभागी प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ। उपस्थित प्रतिनिधिको मत नै निर्णायक हुने भएकाले अध्यक्षका दाबेदारहरूले आफ्नो एजेन्डासहित प्रतिनिधिसमक्ष अपिल गरिरहेका छन्। प्रत्येक मतले आगामी नेतृत्व र संगठनको भावी दिशा निर्धारण गर्नेछ।

पोखरेलका लागि भने यो निर्वाचन एउटा पदको प्रतिस्पर्धा मात्र होइन, २९ वर्ष खाडीमा बिताएको अनुभवलाई संगठनको नेतृत्वमा प्रयोग गर्ने अवसर पनि हो। खाडीको श्रमिकदेखि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीसम्मको आवाजलाई एउटै संगठनात्मक अभियानमा जोड्ने उनको दाबी छ।

श्रमिकको अधिकार, प्रवासीको पहिचान, वंशजको नागरिकता, २२ लाख प्रवासी नेपालीका सवाल र संगठनको सुदृढीकरणलाई केन्द्रमा राखेर पोखरेलले आफ्नो नेतृत्वको खाका अघि सारेका छन्। प्रवासमा लामो समय बिताएको अनुभवलाई नेतृत्वको मुख्य पूँजी बनाएका पोखरेलले आफूलाई नेतृत्व सुम्पिए संगठनलाई थप जनमुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अब निर्णय ३३७ प्रतिनिधिको हातमा छ। उनीहरूले मतदानबाट केवल अध्यक्ष चयन गर्ने छैनन्, प्रवासी नेपाली मञ्चको आगामी चार वर्षको प्राथमिकता, कार्यशैली र दिशासमेत तय गर्नेछन्। यही निर्णायक मोडमा २९ वर्ष खाडीमा नेपाली श्रमिकसँगै उभिएका चानक पोखरेल आफ्नो अनुभव, एजेन्डा र प्रतिबद्धतासहित नेतृत्वको दाबीसहित प्रतिनिधिसामु पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।