रौतहटमा दुई यात्रु बाहक बसबाट भन्सार छलीका २ लाख २२ हजारभन्दा बढीका सामान बरामद
रौतहटमा दुई यात्रु बाहक बसबाट भन्सार छलीका २ लाख २२ हजारभन्दा बढीका सामान बरामद

प्रेमचन्द्र झा,कात्तिक १९ रौतहट
चन्द्रपुर नगरपालिका–९ डुमरियामा प्रहरीले भन्सार छली गरी ओसारपसार गर्न लागिएका २ लाख २२ हजार ६ सय रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब ९ः३० बजे डुमरिया प्रहरी कार्यालय अगाडि गौरबाट काठमाडौं जाँदै गरेका यात्रुबाहक बसहरू चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
प्रहरी वरिष्ठ हवल्दार निरोज कार्कीको कमाण्डमा खटिएको चेकिङ टोलीले दुईवटा यात्रुबाहक बसमा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामान फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बा.प्र.०३–००१ ख २५४० नम्बरको ‘नेपाल दर्शन’ बसबाट ३ बोरा (१०० केजी) सुर्ती र ११ कार्टुन (११० केजी) अन्जिर बरामद गरिएको छ।
बरामद गरिएका सामानको प्रारम्भिक मूल्यांकनअनुसार कुल मूल्य २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय डुमरियामा राखिएको छ।
सामान बरामद भएपछि दुवै बसलाई भने गन्तव्यतर्फ जान दिइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी सार्वजनिक यातायातका साधनमार्फत विभिन्न सामान ओसारपसार हुने गरेको घटनाका बीच प्रहरीले गरेको यो बरामदले यात्रुबाहक बसको नियमित चेकजाँच र निगरानीको आवश्यकतालाई पुनः उजागर गरेको छ।






