पदकको आशा बोकेको कुस्ती खेलमै चरम लापरबाही : मेडिकल टोलीविहीन प्रतियोगिता, खेलाडी आफैँ म्याट बिछ्याउन बाध्य
पदकको आशा बोकेको कुस्ती खेलमै चरम लापरबाही : मेडिकल टोलीविहीन प्रतियोगिता, खेलाडी आफैँ म्याट बिछ्याउन बाध्य

वीरगञ्ज, ४ मंसिर
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशस्तरीय कुस्ती छनौट प्रतियोगिता वीरगञ्जमा सुरु भएको छ। तर राष्ट्रिय प्रतियोगितामा मधेस प्रदेशका लागि पदकको बलियो सम्भावना बोकेको कुस्ती खेलको छनौट प्रतियोगितामै आयोजकको कमजोर तयारी र चरम लापरबाही देखिएको छ।
खेलाडीको स्वास्थ्य सुरक्षा र आकस्मिक उपचारलाई प्राथमिकतामा राख्नुपर्ने प्रतियोगितामा मेडिकल टोलीसमेत उपस्थित नरहेको पाइएको छ। खेलका क्रममा कुनै खेलाडी घाइते भए तत्काल प्राथमिक उपचार तथा स्वास्थ्य सेवा कसले उपलब्ध गराउने भन्ने विषयमा आयोजकको तयारीमाथि गम्भीर प्रश्न उठेको छ।
त्यस्तै, प्रतियोगिता सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय तयारीसमेत कमजोर देखिएको छ। आमन्त्रित खेलाडी तथा निर्णायक मण्डलका सदस्यहरूले आफैँ कुस्ती म्याट बिछ्याउनुपर्ने अवस्था आएको छ। खेल सञ्चालनमा सहयोग गर्ने जनशक्ति तथा व्यवस्थापन पक्षको उचित प्रबन्ध नहुँदा प्रतियोगिताको सुरुवातमै आयोजकको कार्यशैलीप्रति असन्तुष्टि देखिएको छ।
कुस्ती मधेस प्रदेशका लागि राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन सक्ने महत्वपूर्ण खेलमध्ये एक हो। तर पदकको सम्भावना बोकेको खेललाई आवश्यक पूर्वाधार, प्रशिक्षण, प्राविधिक सहयोग र खेलाडीको स्वास्थ्य सुरक्षामा ध्यान नदिई सञ्चालन गर्नु खेल क्षेत्रकै लागि दुःखद विषय हो।
छनौट प्रतियोगितामै यस्तो अव्यवस्था देखिएपछि आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशका खेलाडीले कस्तो प्रदर्शन गर्लान् भन्ने प्रश्नसमेत उठ्न थालेको छ। खेलाडीबाट पदकको अपेक्षा राख्ने तर उनीहरूलाई प्रतिस्पर्धाका लागि आवश्यक न्यूनतम सुविधा, सुरक्षा र सम्मानसमेत उपलब्ध गराउन नसक्ने प्रवृत्तिले प्रदेशको खेलकुद भविष्यप्रति चिन्ता बढाएको छ।
पदक जित्न नसके खेलाडीलाई दोष दिने कि आवश्यक वातावरण उपलब्ध गराउन नसक्ने आयोजकले जिम्मेवारी लिने? अहिलेको मुख्य प्रश्न यही हो।
खेलकुदको विकास भाषण, आश्वासन र घोषणाले मात्र सम्भव हुँदैन। त्यसका लागि खेलाडीप्रतिको सम्मान, व्यवस्थित प्रतियोगिता, आवश्यक पूर्वाधार, स्वास्थ्य सुरक्षा र पर्याप्त लगानी अपरिहार्य हुन्छ।
त्यसैले आयोजक मधेश खेलकुद परिषद् तथा सम्बन्धित खेलकुद निकायले प्रतियोगितामा देखिएका कमजोरीबारे तत्काल जवाफ दिनुका साथै आगामी दिनमा यस्ता लापरबाही दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।






