२६ वर्षअघि बलिदानीपूर्ण संघर्षबाट त्यागिएका अपमानजनक पेसा पुनः लाद्ने प्रयास? विष्णुपुर–७ मा जातीय विभेद र सामाजिक बहिष्कारको आशङ्का

२६ वर्षअघि बलिदानीपूर्ण संघर्षबाट त्यागिएका अपमानजनक पेसा पुनः लाद्ने प्रयास? विष्णुपुर–७ मा जातीय विभेद र सामाजिक बहिष्कारको आशङ्का

सार्वजनिक अष्टजाममा दलित चमार समुदायसँग चन्दा माग्ने, तर पूजा–आराधना, होमजाप तथा सामूहिक भोजमा समान सहभागिताबारे मौनता; पुरानै सामाजिक व्यवहार फर्काउन खोजिएको स्थानीय अगुवाको आरोप।

सप्तरी ,विष्णुपुर ९ मंसिर

सामाजिक समानता, आत्मसम्मान र जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायले दशकौँदेखि गर्दै आएको संघर्ष आज पनि पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। विगतमा पुस्तौँदेखि जातीय आधारमा लादिएका अपमानजनक तथा बाध्यकारी पेसाहरू त्याग्न ठूलो संघर्ष र बलिदानी गरेका दलित चमार समुदायमाथि पुनः पुरानै सामाजिक व्यवहार थोपर्ने प्रयास भइरहेको आरोप सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ७ बाट सार्वजनिक भएको छ।२०५७ सालमा भएको ऐतिहासिक चमार आन्दोलनलाई तराई–मधेसको दलित मुक्ति संघर्षको एउटा महत्त्वपूर्ण अध्यायका रूपमा स्मरण गरिन्छ। उक्त आन्दोलनका क्रममा चमार समुदायका विद्वान्, युवा, विद्यार्थी तथा महिलाहरूले आफ्नो घरपरिवार, सामाजिक सम्बन्ध र व्यक्तिगत जीवनसमेत जोखिममा राखेर संघर्ष गरेको स्थानीय सामाजिक अगुवाहरू बताउँछन्।

आन्दोलनका क्रममा भएका बलिदानी र संघर्षले पुस्तौँदेखि चमार समुदायमाथि लादिएका गमकैय्या, पल्हेनी, सामुदायिक ढोल बजाउनेलगायतका अपमानजनक र बाध्यकारी पेसाहरू त्याग्ने सामाजिक चेतना र आत्मसम्मानको आधार निर्माण गरेको थियो।त्यतिबेला चमार समुदायले आफ्नो आत्मसम्मानका लागि आवाज उठाउँदा तराई–मधेसका विभिन्न स्थानमा आफूलाई उच्च जातिका रूपमा प्रस्तुत गर्ने गैरदलित समुदायका केही व्यक्तिहरूबाट सामाजिक बहिष्कार, घाँसदाउरा, खेतीपाती, अन्नबाली, ऋणकर्जा तथा दैनिक जीवनयापनका आधारभूत गतिविधिमा अवरोध र असहयोग गरिएको इतिहास स्थानीय समुदायका अगुवाहरूले स्मरण गर्दै आएका छन्।

त्यस्ता प्रतिकूल परिस्थितिका बाबजुद चमार समुदायले आफ्नो आत्मसम्मान र समानताको अधिकारका लागि संघर्ष गर्दै आएको र पछिल्ला २६ वर्षमा सम्मानजनक जीवनयापन गर्ने सामाजिक वातावरण निर्माणका लागि प्रयास गरेको उनीहरूको भनाइ छ।
२६ वर्षपछि फेरि पुरानै सामाजिक व्यवहार फर्काउने प्रयास ?

यही ऐतिहासिक संघर्षबाट प्राप्त सामाजिक चेतना र आत्मसम्मानमाथि अहिले प्रश्न उठेको छ। विष्णुपुर गाउँपालिका–७ मा ग्रामदेवता डिहवार बाबाको स्थानमा आयोजना गर्न लागिएको सार्वजनिक अष्टजामका लागि बसेको स्थानीय बैठकले दलित समुदायबाट समेत बेहरी (चन्दा) सङ्कलन गर्ने निर्णय गरेको बताइएको छ।
उक्त बैठकमा विष्णुपुर गाउँका विभिन्न समुदायका भद्रभलादमी, युवा, विद्यार्थी, बुद्धिजीवी तथा राजनीतिक व्यक्तिहरूको उपस्थिति रहेको थियो। बैठकमा सार्वजनिक अष्टजाम सञ्चालनका लागि दलित समुदायले पनि आर्थिक सहयोग गर्नुपर्ने विषय उठेपछि उपस्थित दलित चमार समुदायका युवाहरूले एउटा गम्भीर र जायज प्रश्न उठाए।

उनीहरूको प्रश्न थियो, “हामी पनि २१औँ शताब्दीमा बाँचिरहेका समान अधिकार भएका नागरिक हौँ। सार्वजनिक अष्टजामका लागि दलित चमार समुदायबाट चन्दा वा बेहरी मात्रै सङ्कलन गर्ने हो कि पूजा–आराधना, होमजाप, प्रसाद वितरण तथा सामूहिक खानपानमा समेत समान रूपमा सहभागी गराउने हो ?”

दलित युवाहरूको यो प्रश्न केवल चन्दा सङ्कलनसँग सम्बन्धित थिएन। यो प्रश्न सामाजिक समानता, धार्मिक स्वतन्त्रता, मानवीय सम्मान र संविधानप्रदत्त मौलिक अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको थियो।
तर उक्त प्रश्नको स्पष्ट र सन्तोषजनक जवाफ बैठकमा उपस्थित गैरदलित समुदायका बुद्धिजीवी तथा अगुवाहरूबाट प्राप्त हुन नसकेको दलित समुदायका स्थानीय युवाहरूको भनाइ छ।
त्यसपछि दलित चमार समुदायका युवाहरूले स्पष्ट रूपमा आफ्नो धारणा राख्दै भने, “यदि हामीलाई सार्वजनिक धार्मिक कार्यक्रममा समान रूपमा सहभागी गराइँदैन भने हामीबाट चन्दा वा बेहरी मात्रै किन अपेक्षा गर्ने? समान सहभागिता सुनिश्चित नगरी आर्थिक सहयोग माग्नु न्यायसङ्गत हुँदैन।”

यति भन्दै उनीहरू बैठकबाट बाहिरिएका थिए।
दोस्रो दिन दलितहरुका केही अगुवाहरुले नै दलित समुदायका घरघरमा पुगेर डर देखाइएको आरोप।
घटनाले अर्को गम्भीर मोड त्यसबेला लियो, जब स्थानीय दलित चमार युवा अगुवाहरुका अनुसार बैठकपछि दोस्रो बिहान र साँझसम्म समुदायभित्रकै केही दलित अगुवाहरुलाई गैरदलितहरुले उक्साएर दलित चमार परिवारका घरघरमा पुगेर चन्दा नदिए सामाजिक तथा आर्थिक कठिनाइ भोग्नुपर्ने भन्दै डर देखाउन थाले।स्थानीय केही दलित चमार अगुवाहरुको आरोपअनुसार, अष्टजाममा बेहरी नदिए दिसापिसाब, गाईवस्तु चराउने, खेतीपाती गर्ने तथा ऋणकर्जा लिने–दिने जस्ता दैनिक सामाजिक तथा आर्थिक गतिविधिमा असहयोग हुन सक्ने डर देखाइएको थियो।

यदि यी आरोप सत्य ठहरिए भने यो सामान्य धार्मिक चन्दा सङ्कलनको विषय मात्र रहने छैन। बरु आर्थिक तथा सामाजिक निर्भरतालाई माध्यम बनाएर दलित समुदायलाई दबाबमा राख्ने र उनीहरूको समानताको आवाज कमजोर पार्ने गम्भीर सामाजिक प्रश्न बन्नेछ।स्थानीय एक दलित चमार अगुवाको भनाइमा, “२०५७ सालको आन्दोलनले हामीलाई अपमानजनक पेसा र सामाजिक दासत्वबाट बाहिर निस्कन सिकाएको थियो। आज फेरि चन्दा नदिए सामाजिक सम्बन्ध र दैनिक जीवनयापनमा समस्या पार्ने डर देखाइनु हाम्रो आत्मसम्मानमाथिको प्रहार हो। हामी कसैको विरोधी होइनौँ, तर समान अधिकार र सम्मानका पक्षधर हौँ।”
उनले समुदायभित्रै रहेका केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ वा सामाजिक प्रभाव जोगाउन दलित समुदायको सामूहिक आवाज कमजोर पार्ने काम गरिरहेको आरोपसमेत लगाए।

संविधान र कानुनले के भन्छ ?
नेपालको संविधानले प्रत्येक नागरिकलाई समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, धार्मिक स्वतन्त्रताको हक र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ।संविधानको धारा १८ ले समानताको हक, धारा २४ ले छुवाछूत तथा भेदभावविरुद्धको हक र धारा २६ ले धार्मिक स्वतन्त्रताको हक सुनिश्चित गरेको छ।त्यसैगरी जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले सार्वजनिक तथा निजी स्थानमा जातीय आधारमा छुवाछूत र भेदभाव गर्ने कार्यलाई दण्डनीय बनाएको छ।कुनै पनि सार्वजनिक धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रममा जातीय आधारमा कसैलाई प्रवेश, पूजा–आराधना, प्रसाद ग्रहण, सामूहिक भोज वा अन्य गतिविधिमा सहभागी हुनबाट रोक्नु कानुनी प्रश्नको विषय बन्न सक्छ।तर चन्दा नदिएको कारणले मात्र स्वतः जातीय छुवाछूतको कसुर स्थापित हुँदैन। त्यसका लागि जातीय आधारमा गरिएको व्यवहार, बहिष्कार, धम्की वा अन्य भेदभावपूर्ण गतिविधिको तथ्य र प्रमाणका आधारमा कानुनी मूल्याङ्कन आवश्यक हुन्छ।

सार्वजनिक अष्टजाम सबैको हो भने सहभागिता पनि समान हुनुपर्छ। डिहवार बाबा विष्णुपुर गाउँको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको सार्वजनिक स्थल हो। यस्तो स्थानमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रम कुनै एक जाति वा समुदायको निजी सम्पत्ति बन्नु हुँदैन।

सार्वजनिक कार्यक्रमका लागि सबै समुदायसँग आर्थिक सहयोग मागिन्छ भने सबै समुदायको सम्मानजनक सहभागिता सुनिश्चित गर्नु पनि आयोजकहरूको सामाजिक र नैतिक दायित्व हो।

चन्दा सङ्कलन गर्ने नाममा दलित समुदायलाई आर्थिक सहयोगदाताका रूपमा मात्र सीमित राख्ने र धार्मिक गतिविधिमा समान सहभागिताबारे स्पष्टता नदिने प्रवृत्तिले सामाजिक सद्भाव र आपसी विश्वास कमजोर बनाउन सक्छ।धर्मको वास्तविक मर्म मानवता, सद्भाव, समानता र सहअस्तित्व हो। त्यसैले धार्मिक आस्थाको नाममा कुनै पनि समुदायको आत्मसम्मान र मौलिक अधिकारमाथि प्रश्न उठ्नु हुँदैन।

सम्बन्धित पक्षसँग निष्पक्ष जवाफको अपेक्षा
यस घटनासँग सम्बन्धित अष्टजाम आयोजक समिति, बैठकमा सहभागी स्थानीय बुद्धिजीवी, राजनीतिक व्यक्तित्व तथा सम्बन्धित समुदायका अगुवाहरूले सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पार्न आवश्यक देखिन्छ।

(१)के सार्वजनिक अष्टजामका लागि दलित चमार समुदायबाट बेहरी सङ्कलन गर्ने निर्णय गरिएको हो?

के दलित समुदायलाई पूजा–आराधना, होमजाप, प्रसाद ग्रहण तथा सामूहिक खानपानमा अन्य समुदायसरह समान सहभागिता सुनिश्चित गरिएको छ ?

(२)चन्दा नदिए सामाजिक तथा आर्थिक गतिविधिमा अवरोध हुने भन्दै दलित परिवारलाई डर देखाइएको हो ?

(३)यदि त्यस्तो दबाब दिइएको हो भने त्यसमा संलग्न व्यक्तिहरू को हुन्  ?

(४)२०५७ सालको ऐतिहासिक संघर्षबाट प्राप्त सामाजिक सम्मान र समानताको भावनालाई कायम राख्न स्थानीय समाजका अगुवाहरूले के पहल गर्दै छन् ?

यी प्रश्नहरूको निष्पक्ष जवाफ सार्वजनिक हुनु आवश्यक छ। चमार समुदायको संघर्ष चन्दाका लागि होइन,आत्मसम्मानका लागि थियो।
२०५७ सालको चमार आन्दोलन केवल केही अपमानजनक पेसा त्याग्ने आन्दोलन मात्र थिएन। त्यो मानवीय सम्मान, सामाजिक समानता, स्वतन्त्रता र पुस्तौँदेखि थोपरिएको जातीय दासत्वविरुद्धको चेतनाको आन्दोलन थियो। त्यस आन्दोलनले दिएको सन्देश स्पष्ट थियो—मानिसको पहिचान उसको जात, पेसा वा सामाजिक हैसियतले होइन, उसको मानवता र कर्मले निर्धारण गर्नुपर्छ।

आज २६ वर्षपछि पनि यदि कुनै समुदायलाई आर्थिक सहयोग दिनुपर्ने तर धार्मिक तथा सामाजिक गतिविधिमा समान सहभागिताको अधिकार नपाउने अवस्था सिर्जना हुन्छ भने त्यो हाम्रो समाजको चेतना र परिवर्तनमाथि गम्भीर प्रश्न हो। दलित समुदायले कसैसँग विशेष सुविधा मागेको होइन। उनीहरूले मागेको अधिकार समानता, सम्मान र मानवीय व्यवहार मात्रै हो।

हामीलाई चन्दा सङ्कलन गर्ने हातका रूपमा मात्र होइन, पूजा गर्ने, प्रसाद ग्रहण गर्ने, सामाजिक निर्णयमा सहभागी हुने र सम्मानपूर्वक बाँच्ने समान नागरिकका रूपमा स्वीकार गरियोस्। २०५७ सालको बलिदानीपूर्ण संघर्षबाट प्राप्त आत्मसम्मानलाई फेरि कुनै पनि बहानामा पुरानै जातीय विभेदको अँध्यारोतर्फ धकेल्ने प्रयास हुनु हुँदैन।

आखिर २६ वर्षअघि त्यागिएको जातीय दासत्वको मानसिकता आज पनि हाम्रो समाजमा जीवितै छ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।