जनमुक्ति सेनाको बलिदानले संघीयता र गणतन्त्र स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो : मुकेश साह
२६औँ जनमुक्ति सेना दिवसमा युवा नेता साहद्वारा ऐतिहासिक योगदानको स्मरण, सहिदहरूप्रति श्रद्धाञ्जली

बारा, कलैया ८ मंसिर
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता मुकेश साहले २६औँ जनमुक्ति सेना दिवसको अवसरमा सम्पूर्ण जनमुक्ति सेना, परिवर्तनका पक्षधर तथा आम नागरिकमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै साहले नेपालको राजनीतिक परिवर्तनमा जनमुक्ति सेनाले खेलेको ऐतिहासिक भूमिका र गरेको बलिदानको स्मरण गरेका छन्।
उनले २०५८ साल मंसिर ८ गते सर्वोच्च कमान्डर तथा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको नेतृत्वमा जनताको आफ्नै सेनाका रूपमा जनमुक्ति सेना स्थापना भएको दिनलाई नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।
साहले सामन्तवादको प्रतीकका रूपमा रहेको राजतन्त्रमा केन्द्रित राज्यसत्तालाई जनताको हातमा ल्याउने उद्देश्यसहित सञ्चालित दशवर्षे महान् जनयुद्धमा जनमुक्ति सेनाले गरेको संघर्ष र बलिदानले मुलुकमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व तथा सामाजिक न्यायजस्ता महत्वपूर्ण उपलब्धि हासिल गर्न आधार तयार गरेको बताएका छन्।






