चीनको अघोषित नाकाबन्दीले नेपालीहरु टाट पल्टिने अवस्थामा, कमल थापाको कडा बिरोध

काठमाडौं १३ माघ
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीले नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको भन्दै कडा आपत्ति जनाएका छन् । मंगलबार थापाले ट्वीटरमार्फत चीनको अघोषित नाकाबन्दी आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको भन्दै उनले यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ,’ उनले भनेका छन् ।
चीनले कहिले भूकम्प त कहिने कोभिड महामारी देखाएर नाकामा अवरोध सिर्जना गर्न खोजेको छ । नेपाली व्यापारीले करोडौं लगानी गरेर चीनबाट सामान ल्याए पनि नाकामा रोकिदिँदा समस्या भएको छ ।
दुई/तीन वर्षयता नाकामै सामान रोकिँदा काम नलाग्ने भएर क्षति भएको छ । जसले नेपाली व्यापारी टाट पल्टिने अवस्थामा पुगेका छन् भने उपभोक्ताले पनि वञ्चित भएका छन् ।






