बाराको प्रसौनी गापा वडा नं. ५ प्रस्टोकामा अवैध रूपमा जुवा सञ्चालन, प्रशासन मौन

बारा, १८ माघ

बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रस्टोकामा पछिल्लो एक महिनादेखि अवैध रूपमा जुवा चलिरहे पनि प्रहरी तथा प्रशासनको ध्यान पुग्न सकेको छैन । कलैया मुख्य बजारदेखि पश्चिमपट्टि रहेको प्रसौनी गाउँपालिका वडा नं. ५ प्रस्टोकामा फुसको छाप्रो (गोठ) मा २०–२५ जना नेपाली र भारतीयहरूले नियमित जमघट गरी कौडा खेल्दै आएका हुन् । संगठित रूपमा नै कौडा खेलाउने, चर्को ब्याजमा ऋण दिनेलगायत गतिविधि भइरहेको स्थानीयको भनाइ छ । जुवाको माहोलका कारण स्थानीय पनि आजित भइसकेका छन् । दिउँसो १ बजेदेखि बेलुका सात बजेसम्म जुवाको खाल चल्ने गरेको स्थानीयले बताए ।

गाउँका केही व्यक्तिले जुवाबारे सामाजिक सञ्जालमा गरेको पोस्ट भाइरल भए पनि प्रहरी प्रशासनले कारबाही गरेको छैन । जिल्लाका प्रहरी प्रमुख एसपी दिलीपसिंह देउवाले आफूलाई कौडा भइरहेको बारे जानकारीमा आए पनि टोली पठाउँदा फेला नपरेको बताएका छन् । तर यता जुवा खेलाउने समूहले आफुहरूले बारा प्रशासन र प्रदेश सम्मलाई मिलाएर कौडा खेलाउने गरेकाले केही समस्या भएको अवस्थामा प्रहरी भित्रैबाट जानकारी आउने गरेको हाका हाकी भन्ने गरेका छन ।

‘पहिला सीमापारि आदापुर र रक्सौलमा उनीहरूको समूह खेल्ने र खेलाउने गर्थे । अहिले उता कडाइ गरेपछि वारि खेल भइरहेको छ,’ उनले भने, ‘सुरक्षा अधिकारीहरूसित ‘सेटिङ’ मिलाएर भइरहेको छ ।’वीरगन्ज र कलैयाका सात/आठ जनाको एक समूहले साझेदारीमा दैनिक कौडा खेल्ने र खेलाउने गरेका हुन् । त्यसबाट उनीहरूले दैनिक दुई लाखसम्म कमाएर बाँडफाँड गर्ने गरेको स्रोतको भनाइ छ । कौडाको खेलले थुप्रै घरवारविहीन भएको उनले बताए ।

स्रोतका अनुसार कौडा खालमा पुग्न चारपाङ्ग्रे वा बाइकबाट आएका जुवाडेका लागि ५ सय मिटर परै राख्नुपर्ने व्यवस्था मिलाइएको छ । उनीहरूको सुरक्षा घेरा तीन तहको बनाइएको छ । कौडाको खालसँगै जमघट (हुल) भएको केही परसम्मको सबै नाकामा सुराकी तैनाथ हुने अपरिचित पस्न खोजे जुवाखालमा सूचना दिने गरेका छन् । त्यसकारण पनि सुरक्षा निकायले फेला पार्न नसकेको स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।