सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो : बाबुराम भट्टराई

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूकाे गठबन्धन सबैभन्दा पवित्र रहेकाे दाबी गर्नुभएकाे छ । आज सोमवार गठबन्धनले आयोजना गरेको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले यस्तो दाबी गर्नुभएकाे हाे ।

वैचारिक, भू–राजनीतिक, आर्थिक ढङ्गले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि उहाँकाे जिकिर थियाे । उहाँले भन्नुभयो, ‘कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचाविहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको थासीवादीको प्रवर्द्धन गर्ने शक्तिहरु त्यो गबठन्धन अपवित्र गठबन्धन हो ।’

कार्यक्रममा बाेल्दै अध्यक्ष भट्टराईले गठबन्धनको आउँदाे कार्यक्रम सरकारी संस्थाहरूलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको दाबी गर्नुभयाे । उहाँले गठबन्धनको मुख्य एजेन्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवालाई स्वरोजगार प्रदान गर्नु रहेको जिकिर गर्नुभयाे । उहाँले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रतिबद्धता भनेको संस्थाहरूलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवामा बेरोजगारी छ, विदेश पलायनकाे समस्या छ, छिटो विकास र समृद्धिको चाहना हाम्राे छ । यो गठबन्धनले नेपालको सन्दर्भमा आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ ।’

अध्यक्ष भट्टराईले विगतका तिता–मिठा कुरा बिर्सिएर आउँदाे चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताउनुभयो । उहाँले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको पनि उहाँकाे भनाइ थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।