मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गर्यो सदर

वीरगञ्ज २५ साउन
वीरगञ्ज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउने कामलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैङ्क रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्चले सदर गरेको छ ।
संरचना हटाउन नदिन भन्दै कर्पोरेट डेभलपमेन्ट बैङ्क रहेको भवनका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ ।
बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतको ६ नम्बर इजलासका न्यायाधीशद्वय प्रकाश कुमार ढुङ्गाना र डा. कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ ।
अदालतले गएको साउन ११ गते अल्पकालीन अन्तरिम आदेश दिँदै संरचना हटाउने काम यथावत् राख्न भनेको थियो । अल्पकालीन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्वीकार गरेसँगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ । महानगरले भवन साउनको पहिलो साता हटाएको थियो ।






