चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’प्रति राष्ट्रिय एकता अभियानले गर्यो भत्र्सना
चिनियाँ राजदूतद्वारा पत्रकारमाथि दिइएको ‘धम्की’प्रति राष्ट्रिय एकता अभियानले गर्यो भत्र्सना
वीरंगज १६ जेष्ठ
राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई दिएको ‘धम्की’प्रति भत्र्सना गरेको छ । एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेको हो ।
राष्ट्रिय एकता अभियान नेपालका केन्द्रीय संयोजक विनय यादव विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राजदूतको कार्य गलत र कूटनीतिक मान्यता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विश्वास गर्दछ । एक विदेशी कूटनीतिज्ञले सम्मानित पत्रकारलाई धम्की दिने प्रयास गर्नु चिन्ताजनक हो ।’
चिनियाँ दूतावासलाई यो समस्यालाई गम्भीरताका साथ सम्बोधन गर्न र फेरि यस्तो नदोहोरिने सुनिश्चित गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा धम्कीयुक्त भाषामा ‘रिप्लाई’ गरेका थिए ।
पत्रकार बुढाथोकीले केही दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।
त्यही पोस्टमा मंगलबार राति रिप्लाई गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका हुन् । उनले त्यसमा प्रतिउत्तर फर्काउँदै लेखेका थिए, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’
पत्रकारमाथि दिइएको धम्कीपूर्ण जवाफको अहिले चौतर्फी आलोचना भइरहेको छ ।