यातायातको लाईसेन्स शाखामा ड्राईभर शम्भुको रजगज, १७ गतेको लागि असुली सुरु

अजय चौरसिया /
वीरगंज । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र (लाईसेन्स) शाखा वीरगंजका ड्राईभर शम्भु गुरुङ्गको कारण सो कार्यालय दिनप्रतिदिन बदनाम हुदै गएको जो कोहीले पनि सजिलै बताउन थालेका छन् ।
चितवन जिल्ला निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अगाडि यातायात कार्यालय वीरगंजमा आई दाई महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दा गर्दै तत्कालिन कार्यालय प्रमुखहरुलाई रिझाउदै आफुलाई करारको ड्राईभरमा नियुक्ती लिन सफल भएका थिए ।
गुरुङ्ग ड्राईभरको नियुक्ती लिए पनि उनको मुख्य काम बिचौलियाको रहदै आएको घाम जस्तै छर्लङ्ग रहेको छ । उनी कार्यालयको प्रमुख हुन कि कार्यालय सहयोगी ? प्रायःलाई ठम्याउन गा¥हो हुदो रहेको सेवाग्रहीहरु नै बताउंदछन् ।
किनभने जो सुकै कार्यालय प्रमुख आए पनि सवारी चालक अनुमति पत्रमा सेवाग्रहीहरुबाट आएको घुसको असुलीको रकम व्यवस्थापन गर्ने देखि लिएर मुख्य काम गुरुङ्गले नै गर्ने गरेको जानिफकारहरु बताउंदछन् । उनले आफ्नो हैकमबादी चलाउनैकै निमित्त आफ्नो नातामा पर्नेहरु चितवन निवासी संदिप मगर, गोरखा जिल्ला निवासी सुरज पाठक, धरान जिल्ला निवासी सुमन मगर लगायतकालाई करारमा नियुक्ती दिलाई कार्यालयलाई कब्जा गरेर करोडौं करोड कमाउन सफल व्यक्तिको रुपमा चिनिन्छ ।
स्रोतका अनुसार शम्भु गुरुङ्गकै असहयोगका कारण निवर्तमान कार्यालय प्रमुख उमेश रेग्मी आफ्नो सरुवा आफै माग गरेर वीरगंजबाट सरुवा भएका हुन् । बितेको जेठ महिनामा सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा पटक–पटक लिखित र ट्रायल परीक्षा भई हजारौं हजार परीक्षार्थीहरुलाई पास गराई करिब ५० करोड रुपैया असुली भएको स्रोतको दाबी रहेको छ ।
सो रकम मध्ये १५ प्रतिशत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको भागमा पर्छ भने अन्य रकमहरु नियमनकारी निकाय र कार्यालयको कर्मचारीहरुको भागमा पर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।
कुन नियमनकारी निकायलाई कति र कहाँ के गर्नु पर्ने हो, सो को मुख्य भुमिका ड्राईभर शम्भु गुरुङ्ग नै गर्ने भएकोले उनको आम्दानी अथाह रहेको स्रोतको कथन छ । निवर्तमान प्रमुख रेग्मी अस्वस्थ्य हुंदा ड्राईभर गुरुङ्गले एकलौटी मनमौजी फाईदा लिई रेग्मीलाई असहयोग गरेकै कारण उनी बाध्य भएर आफ्नो सरुवा आफै मागी रवाना भएको कार्यालयमा चर्चा हुने गरेको कार्यालय स्रोतले जनाएको छ ।
वर्तमान कार्यालय प्रमुख कमल गौतम सवारी चालक अनुमति पत्र शाखा वीरगंजको मज्जा चाखिसकेको हुनाले ड्राईभर शम्भुकै सहयोगमा गौतम पुनः वीरगंजको प्रमुख बनेर आएका छन् ।
साउन १७ गते बिहिवार देखि हुने लिखित परीक्षाको रकम असुली गर्नका लागि प्रमुख गौतमले गुरुङ्ग लगायत अन्य कर्मचारीहरुलाई जिम्मा दिईसकेको समाचार स्रोतले जनाएको छ । यस सन्दर्भमा ड्राईभर गुरुङ्गलाई बारम्बार फोन र म्यासेज गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।