अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री !
अरुण चौधरीलाई चिट्ठा: विद्याबाट माफी, रामचन्द्रबाट राज्यमन्त्री !
काठमाडौं १८ साउन
पूर्वराष्ट्रपति विद्या भण्डारीबाट आममाफी पाएका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीमा आवद्ध सांसद चौधरीलाई राष्ट्रपति पौडेलले शुक्रबार सरकारको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवनियुक्त राज्यमन्त्री चौधरीले ०७९ फागुन ७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रजातन्त्र दिवसको उपलक्ष्यमा आममाफी पाएका थिए ।
तत्कालीन समयमा उनी १७ दिनदेखि कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका थिए । चौधरीलाई अदालतले कैलालीकै लम्की–चुहा क्षेत्रमा २०६६ मा भएको ट्रयाक्टर आगजनीको घटनामा दोषी प्रमाणित गरेको थियो ।
थरुहट आन्दोलन क्रममा आह्वान गरिएको बन्द अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा आन्दोलनकारी समूहले लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको थियो । कैलाली जिल्ला अदालतले घटना भएको तीन वर्षपछि २०७० वैशाख ९ गते सांसद चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।
६ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई प्रहरीले २०७९ माघ १९ मा बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको थियो । उनीविरुद्ध नेकपा (एमाले) का नेता महादेव बजगाईंले २०६७ भदौ २ गते ट्रयाक्टर जलाइएको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेका थिए ।
आगजनी भएको ट्रयाक्टरका मालिक बजगाईंसँग चौधरी २०७४ मा लम्कीचुहा नगरपालिकाको मेयर पदमा निर्वाचन लडेका थिए । उनी स्थानीय तह निर्वाचन लड्नु अगावै अदालतबाट दोषी ठहर भइसकेका थिए ।
तर, बजगाईंले तत्कालीन समयमा आफूविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिँदा पनि अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने भन्दै केही ‘एक्सन’ लिएका थिएनन्
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि नेपालगञ्जबाट पक्राउ पर्दा चौधरीले ‘पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजीनीति सुरु भएको देख्दा अचम्म लागेको’ प्रतिक्रिया दिएका थिए ।
मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने बेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ थियो ।
२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली–२ बाट २१ हजार ८७१ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिष्पर्धी एमाले उम्मेदवार झपटबहादुर रावलले १६ हजार १२८ मत ल्याएका थिए ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भगतबहादुर बडुवाल १५ हजार ११६ मतका साथ तेस्रो भएका थिए ।
लम्की–चुहा नगरपालिकाको मेयरका लागि प्रतिष्पर्धामा उत्रिएका चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा भने तेस्रो भएका थिए । तत्कालीन समयमा उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का तर्फबाट उम्मेदवार थिए ।
थरुहट आन्दोलनका क्रममा जलाइएको ट्रयाक्टरका मालिक बजगाईं ७ हजार १८८ मतसहित लम्की–चुहा नगरपालिकाको मेयरमा विजयी हुँदा तेस्रो भएका चौधरीले ६ हजार २२२ मत पाएका थिए । दोस्रो भएका कांग्रेस उम्मेदवार भक्तबहादुर थापाले ६ हजार ५२१ मत ल्याएका थिए ।