जगरनाथपुर गाउपालिका ४- पर्सामा समाजिक अनुभव परियोजनाको भव्य उद्घाटन
जगरनाथपुर गाउपालिका ४- पर्सामा समाजिक अनुभव परियोजनाको भव्य उद्घाटन
वीरगंज ११ भदौ
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरूको समूहले ‘प्रोजेक्ट समर्पण’ अन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगर्नाथपुर गाउपालिका ४- पर्सामा सात-दिने समाजिक अनुभव परियोजनाको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गरेको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मुख्यमन्त्री लालबाबु राउत, वडा नगर प्रमुख श्रीकान्त यादव, मधेश प्रदेश अध्यक्ष अशोक कुमार तेमागी, र श्री गणेश बचत तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष कलिमुल्लाह अन्सारीको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित भएर अतिथिहरूले परियोजनाको महत्व र यसको विद्यार्थीहरूमा पर्ने सकारात्मक प्रभावबारे बोलेका थिए।
‘प्रोजेक्ट समर्पण’ का सदस्यहरू बिनिक सापकोटा, मोहम्मद साजिद, प्रतीक अवाले, र आदित्य बंस्कोटाले विद्यालयलाई कम्प्युटर, प्रिन्टर, झोला, घडी, पानीको डिस्पेन्सर, पंखा लगायतका सामग्रीहरू प्रदान गर्दै, परियोजनाको सफलताका लागि आफ्नो महत्वपूर्ण योगदान पुर्याए। परियोजनाको अन्तिम दिन वृक्षारोपण कार्यक्रम गर्दै यसलाई समापन गरिनेछ।
यस समाजिक अनुभव परियोजनाको उद्देश्य विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, खेलकुद सामग्री उपलब्ध गराउनु मात्र नभई, उनीहरूलाई विभिन्न सामाजिक र शैक्षिक विषयमा सचेतना फैलाउनु हो। उद्घाटनको पहिलो दिनमै परियोजना सामर्पण टोलीको सक्रियता र समर्पणले विद्यार्थीहरूमा ठूलो उत्साह र प्रेरणा सञ्चार गरेको छ। यस परियोजनाले विद्यार्थीहरूको शैक्षिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।