जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै

काठमाडौं २२ माघ
नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य सहित पहिलो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को औपचारिक घोषणा गरिएको छ। मंगलबार काठमाडौंको होटल हिमालयमा आयोजित कार्यक्रममा संवाद फाउन्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीहरूको उपस्थितिमा महोत्सव घोषणा गरेको हो।
“Stories Beyond Borders: Where Culture Meets Cinema” भन्ने नाराका साथ अघि बढ्न लागेको यो महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने लक्ष्य लिएको छ। महोत्सवमा International Panorama, Nepali Panorama, Student Panorama जस्ता विभिन्न श्रेणीमा चलचित्र प्रदर्शन गरिनेछ।
नेपाली सिनेमाका लागि नयाँ अवसर
JIFF ले नेपाली चलचित्रको प्रचार-प्रसार गर्दै अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउने उद्देश्य राखेको छ। महोत्सवका क्रममा फिल्म साक्षरतासम्बन्धी कार्यक्रम, कार्यशाला तथा मास्टर क्लासहरू पनि सञ्चालन गरिनेछ। साथै, नेपाली युवाहरूलाई चलचित्र निर्माणमा प्रेरित गर्न र उनीहरूलाई अन्तर्राष्ट्रिय फिल्मकर्मीहरूसँग जोड्ने विशेष कार्यक्रमहरू राखिनेछ।
JIFF मा हालसम्म ११४ भन्दा बढी देशका चलचित्रहरूको आवेदन परेको छ भने नेपाली पानोरामा नेपाली फिल्महरूको आवेदन आउने क्रम जारी रहेको आयोजक संस्थाले जनाएको छ।
महोत्सवको मिति र स्थान
JIFF २०८१ फाल्गुन १६–१८ (फेब्रुअरी २८–मार्च २, २०२५) मा जनकपुरको मैथिली भवन मा आयोजना हुनेछ। आयोजकहरूका अनुसार यो महोत्सव नेपालका लागि मात्रै नभई सम्पूर्ण दक्षिण एसियाली चलचित्र उद्योगका लागि महत्वपूर्ण मञ्च बन्नेछ।
यो महोत्सवले नेपाली फिल्म क्षेत्रलाई नयाँ गति दिने विश्वास गरिएको छ, जसले नेपालको चलचित्र संस्कृतिलाई प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई समेत फाइदा पुर्याउने अपेक्षा गरिएको छ।