वीरगंज यातायातका अधिकृत अविनाश गुप्ताको घुस लिने नौलो तरिका “हा” “बा”

अजय चौरसिया /
वीरगंज ४ साउन । यातायात व्यवस्था कार्यालय वीरगंज मोटरसाईकल फाँटका अधिकृत अविनाश गुप्ताले असुलीको मामिलामा आतंक मच्चाएको समाचार प्राप्त हुन आएको छ ।
२०७६ साल देखि वीरगंज यातायातमा कार्यरत्त रहेका छैठौं तहका कम्प्यूटर अधिकृत गुप्ताको सरुवा गत साल सर्लाही जिल्लाको मलंगवा यातायातमा भए पनि उनी मन्त्रालयलाई रिझाई २०८१ असोजमा काज सरुवा गराई पुनः वीरगंज आएका थिए ।
उनी वीरगंजको बसाईमा करोडौं कमाई आफ्ना आफ्न्तजनहरुको नाममा सम्पत्ति जोडेको समाचार स्रोतले जनाएको छ । भ्रष्टाचार गर्नमा माहिर मानिएका रौतहट जिल्ला निवासी गुप्ताले मोटरसाईकल फाँटमा दर्ता, नामसारी, नविकरण लगायतका कामहरुमा सेवाग्रहीहरु सँग निश्चित रकम बिचौलियाहरु मार्फत नलिई काम गर्ने नगरेको भुक्तभोगीहरु बताउंदछन् ।
गुप्ताको घुस लिने तरिका नौलो रहेको छ । उनी सँग काम गराउन जाने गरेका लेखनदास वा बिचौलियाहरु सँग अधिकृत गुप्ताले कोड भाषामा “हा” “बा” भनेर निश्चित रकम तय गरे पछि मात्र कार्य अगाडि बढाउने गरेको स्रोतको कथन रहेको छ ।
अधिकृत गुप्ताको भाषामा “हा” भनेको (हात्ती) एक हजार र “बा” भनेको (बाघ) पाँच सय रुपैया भन्ने बुझने गरिएको एक बिचौलियाले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
दैनिक २० हजार देखि ५० हजार सम्म घुसको रकम असुली गर्न सफल व्यक्तिको रुपमा चिनिएका अधिकृत गुप्ताले गाडी धनिको उपस्थित बिना पनि ब्लुबुक प्रतिलिपी दिने गरेको र तत्कालिन अधिकृत सरोज आचार्यले ब्लुबुकमा मात्र सनाखत नामसारी गरेको गाडी धनिहरु आउँदा सोलाई सदर गर्दै मोटो रकम लिएर अधिकृत गुप्ताले ढाडामा चढाउने गरिएको बताईन्छ ।
गुप्ता कम्प्यूटर अधिकृत भएको हुनाले उनलाई सो जिम्मा दिनु पर्नेमा कार्यालय प्रमुख कुशेश्वर साहले सो नगरी करारमा पनि नियुक्ती नभएको व्यक्तिहरुलाई कम्प्यूटर अधिकृतको जिम्मा दिएको र गुप्तालाई आर्शिवाद प्रदान गर्दै मोटरसाईकल फाँटमा राखेको कार्यालय स्रोतले जनाएको छ ।
अधिकृत गुप्ताले मोटरसाईकल फाँटबाट मोटो रकम उठाई अन्य कर्मचारीहरुलाई भाग नदिएको विषयमा अधिकृत सन्नी झा र बद्री दाहालको नेतृत्वमा आन्तरिक पञ्चायती भएको थियो ।
सो पञ्चायतीमा अधिकृत गुप्ताले आफ्नो गल्ती स्वीकार्दै आउने दिनमा यस्तो नगर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतको भनाई रहेको छ । यस सन्दर्भमा अधिकृत गुप्ता सँग मोबाईल फोन गरी घुसको रकम लिएर गाडी धनिको उपस्थित बिना पनि ब्लुबुक प्रतिलिपी दिन मिल्छ ? भनि प्रश्न गर्दा उनले नियमले गाडी धनीको उपस्थित बिना ब्लुबुक प्रतिलिपी दिन नमिल्ने भए पनि व्यवहारिक रुपमा गरदिएको स्वीकार गरे ।
पुनः अधिकृत सरोज आचार्य लगायतकाहरुले ब्लुबुकमा सनाखत नामसारी गरेको गाडी धनिहरु आउँदा सोलाई सदर गर्दै मोटो रकम लिएर तपाईले ढाडामा चढाउने गर्नु हुन्छ ? भनि प्रश्न गर्दा बाहिर बिचौलियाहरुले के गर्छन, कति पैसा लिन्छन मलाई जानकारी हुदैन, मैले कसै सँग रकम लिएको छैन, सेवाग्रहीहरु हैरान नहोस भनि व्यवहारिक रुपले काम गरदिने गरेको स्वीकार गरे ।






