पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो अभियान तीव्र, “हर हर कमल, घर–घर कमल” नारा गुञ्जियो
पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो अभियान तीव्र, “हर हर कमल, घर–घर कमल” नारा गुञ्जियो

पर्सा १४ माघ
नेपाल जनता पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा आज घरदैलो कार्यक्रम सञ्चालन गरेको छ। ड्राइपोर्ट चौक, खल्वा टोला र भन्सार सिर्सियामा आयोजित घरदैलो अभियानका क्रममा पार्टीका नेता–कार्यकर्ता मतदाताको घर–घरमा पुगेर पार्टीको नीति, कार्यक्रम र चुनावी एजेन्डा प्रस्तुत गरेका थिए।
घरदैलो कार्यक्रमका क्रममा “हर हर कमल, घर–घर कमल” भन्ने नारा गुञ्जिएको थियो। कार्यक्रममा पार्टी नेताहरूले नेपाली समाजको मौलिक पहिचान, सनातन हिन्दू धर्म, संस्कार र परम्पराको संरक्षण आवश्यक रहेको धारणा राखेका थिए। हिन्दू धर्म नेपाली सभ्यता र राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै पार्टीले धर्म, संस्कृति र सामाजिक सद्भाव जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय मतदातासँगको भेटघाटमा पार्टी प्रतिनिधिहरूले धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण, रोजगारी, विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए। घरदैलो अभियानमा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो भने धेरै मतदाताले सकारात्मक प्रतिक्रिया दिएको पार्टीले जनाएको छ।
नेपाल जनता पार्टीले आगामी दिनहरूमा पनि पर्सा–२ का विभिन्न स्थानमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






