दशगजामा दाहसंस्कार : परम्परा कि कानुनी चुनौती ?
दशगजामा दाहसंस्कार : परम्परा कि कानुनी चुनौती ?

कलैया१३ बारा
कलैया उपमहानगरपालिका–१० मटिअर्वाका बासिन्दा वर्षौंदेखि आफ्ना आफन्तको दाहसंस्कार नेपाल–भारत सीमास्थित दशगजा क्षेत्र तथा भारतीय भूभाग नजिक गर्दै आएका छन्। नेपालतर्फ व्यवस्थित श्मशान घाटको अभाव भएपछि स्थानीयहरू बाध्य भएर सीमाक्षेत्रमै अन्त्येष्टि संस्कार गर्दै आएका हुन्।
स्थानीय बिन्दा राम, परशुराम प्रसाद सोनार र प्रमोद प्रसाद चौरसियाका अनुसार मटिअर्वासँग जोडिएका भारतीय गाउँ आदापुर, लालाछपरा र कटहरिया आसपासको क्षेत्रमा दाहसंस्कार गर्ने चलन पुरानै हो। तर सीमावर्ती क्षेत्रमा हुने यस्ता गतिविधि कानुनी रूपमा संवेदनशील विषय मानिन्छन्।
दशगजा नेपाल र भारतबीचको सीमा छुट्याउने संवेदनशील क्षेत्र भएकाले त्यहाँ स्थायी संरचना निर्माण, अतिक्रमण वा कुनै गतिविधि सञ्चालन गर्दा दुवै देशका सुरक्षा निकाय र प्रशासनको चासो रहने गर्दछ। कानुनविद्हरूका अनुसार मानवीय र धार्मिक कार्य भए पनि सीमा क्षेत्रको प्रयोग गर्दा सम्बन्धित निकायबीच समन्वय आवश्यक हुन्छ।
स्थानीयवासीहरू भने राज्यको बेवास्ताका कारण आफ्नै देशमा अन्तिम संस्कार गर्न नसक्ने अवस्था रहेको गुनासो गर्छन्। उनीहरूले नेपालतर्फ व्यवस्थित श्मशान घाट निर्माण गरी सीमाक्षेत्रमा हुने बाध्यात्मक दाहसंस्कार अन्त्य गर्न माग गरेका छन्।
स्थानीयको प्रश्न छ— “जन्म र जीवन नेपालमै बिताउने नागरिकले अन्तिम संस्कारका लागि किन सीमाको सहारा लिनुपर्छ ?”
यो प्रश्नसँगै मटिअर्वावासीले श्मशान घाट निर्माण र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।






