रौतहटमा रात्रि गस्तीका क्रममा सालको गोलिया काठ बरामद, तस्कर फरार
रौतहटमा रात्रि गस्तीका क्रममा सालको गोलिया काठ बरामद, तस्कर फरार

रौतहट ९ साउन
रौतहटको जंगलसहिया सब-डिभिजन वन कार्यालयको नेतृत्वमा सशस्त्र प्रहरी बल (एपीएफ) र वन कर्मचारीको संयुक्त रात्रि गस्ती टोलीले अवैध रूपमा ओसारपसार हुँदै गरेको साल जातको गोलिया काठ बरामद गरेको छ।
जंगलसहिया सब-डिभिजन वन कार्यालयका प्रमुख बिनोद जेठाराको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले मिति २०८३ साल साउन ९ गते राति करिब १:०० बजे गस्ती गर्ने क्रममा मोटरसाइकलमा साल जातका दुई थान गोलिया काठ लोड गरी लैजाँदै गरेका काठ तस्करहरूलाई फेला पारेको थियो।
गस्ती टोलीलाई देख्नेबित्तिकै तस्करहरूले मोटरसाइकलबाट काठ बाटोमुनि रहेको खेतमा फालेर घटनास्थलबाट फरार भएको वन कार्यालयले जनाएको छ।
गस्ती टोलीले उक्त दुई थान सालको गोलिया काठ बरामद गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि जंगलसहिया सब-डिभिजन वन कार्यालयको घाटगढीमा सुरक्षित रूपमा राखिएको जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको तथा वन ऐन बमोजिम आवश्यक अनुसन्धान अघि बढाइएको वन कार्यालयले जानकारी दिएको छ।






