महोत्तरी–बर्दिवास कालापानी घटनाका पीडितलाई न्यायको माग गर्दै ‘हल्ला बोल’ अभियानको पहिलो चरण सम्पन्न

महोत्तरी–बर्दिवास कालापानी घटनाका पीडितलाई न्यायको माग गर्दै ‘हल्ला बोल’ अभियानको पहिलो चरण सम्पन्न

काठमाडौं १५ साउन

महोत्तरीको बर्दिवास नगरपालिका–कालापानी क्षेत्रमा भएको घटनामा पीडित वन कर्मचारीलाई न्याय दिलाउन माग गर्दै चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल ले सञ्चालन गरेको पाँचदिने ‘हल्ला बोल’ आन्दोलनको पहिलो चरण सम्पन्न भएको छ।

अभियानअन्तर्गत शुक्रबार गृहमन्त्रालय, सिंहदरबारमा पुगेर प्रतिनिधिमण्डलले घटनाबारे विस्तृत जानकारी गराउँदै गृहमन्त्रीको सचिवालयमार्फत ज्ञापनपत्र बुझाएको जनाएको छ। गृहमन्त्री सुनसरी जिल्लाको भ्रमणमा रहेकाले अघिल्लो दिन ज्ञापनपत्र बुझाउन नसकिएको र आज सचिवालयमार्फत बुझाइएको अभियानले जनाएको छ।

अभियानका अनुसार साउन ११ गते काठमाडौंको माइतीघर मण्डलाबाट ‘हल्ला बोल’ कार्यक्रम सुरु गरिएको थियो। साउन १२ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाइएको थियो भने साउन १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएपछि पार्टी सभापति रवि लामिछानेलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो। साउन १४ गते माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरिएको थियो।

अभियानले पछिल्ला घटनाक्रमका कारण तराई–मधेश क्षेत्रमा धार्मिक सद्भावमा चुनौती उत्पन्न भएको र सामाजिक अवस्था थप संवेदनशील बन्दै गएको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

अभियानले महोत्तरी–बर्दिवास कालापानी घटनामा संलग्न दोषीलाई अझै पक्राउ नगरिएको तथा पीडित वन कर्मचारीले न्याय नपाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अपेक्षित पहल नभए पुनः सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत अभियानले दिएको छ।

यसैबीच, पाँचदिने ‘हल्ला बोल’ कार्यक्रम सफल बनाउन साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा शुभेच्छुकप्रति चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल ले आभार व्यक्त गर्दै धन्यवाद जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।