आस्थाको धरोहर, विराटनगरको गौरव श्रीराधाकृष्ण रथयात्रा

आस्थाको धरोहर, विराटनगरको गौरव श्रीराधाकृष्ण रथयात्रा

विराटनगर १९ भदौ 

नेपालको औद्योगिक, व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित विराटनगरको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग गाँसिएको एउटा अनुपम धार्मिक उत्सव बिराटनगरको “श्रीराधाकृष्ण रथयात्रा” रहेको छ।
भगवान् श्रीराधाकृष्णलाई रथमा विराजमान गराई नगर परिक्रमा गराउने धार्मिक परम्परा मात्र होइन, यो यस क्षेत्रका निवासीहरूको श्रद्धा, विश्वास, सामाजिक एकता, धार्मिक सद्भाव, सांस्कृतिक विविधता, सेवाभाव र वर्षौंदेखि हस्तान्तरण हुँदै आएको गौरवशाली इतिहासको जीवन्त प्रतीक रहेको छ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात् नवमी तिथिका दिन विराटनगरको वातावरण नै फरक देखिन्छ। नगरका सडक, चोक, गल्ली र बजारहरू भक्तिमय बन्छन्। करीब ९ किलोमिटरको यस नगर परिक्रमामा शंखध्वनि, घण्टानाद, भजन–कीर्तन, धार्मिक झाँकी, जयजयकार र भक्तजनहरूको उत्साहले सिङ्गो नगरलाई आध्यात्मिक तथा सांस्कृतिक उत्सवमा रूपान्तरण गरिदिन्छ। रथयात्राको दिन विराटनगरमा मानौँ धर्म, संस्कृति, आस्था र जनभावनाको विशाल कुम्भ नै लाग्छ। गतवर्ष पुरानो रथको सट्टा आकर्षक शैलीको नयाँ रथ निर्माण गरिएको थियो। यस रथको उचाइ २१ फिट ३ इन्ची,चौडाइ १४ फिट, लम्बाइ १९ फिट रहेको छ।जुवाको भाग करीब ८ फिट रहेको छ।

ठूलो धार्मिक उत्सवका रूपमा स्थापित हुँदै आएको यस रथयात्राले विराटनगरको सीमाभित्र मात्र आफ्नो प्रभाव सीमित राखेको छैन। नेपालका विभिन्न जिल्लाबाट तथा भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालुहरू यस यात्रामा सहभागी हुने गरेका छन्। यसरी हेर्दा श्रीराधाकृष्ण रथयात्रा आज विराटनगरको मात्र उत्सव नभई नेपालकै धार्मिक तथा सांस्कृतिक गौरवका रूपमा स्थापित हुँदै गएको छ।

खटयात्रादेखि विशाल रथयात्रासम्मको ऐतिहासिक यात्रा-

विराटनगरको श्रीराधाकृष्ण रथयात्राको इतिहास पुरानो, रोचक र प्रेरणादायी छ। यसको प्रारम्भ वि.सं. १९८८ अर्थात् सन् १९३१ तिर बिराटनगर तीनपैनी स्थित श्रीराधाकृष्ण मन्दिरबाट भएको मानिन्छ।
जलझुलनी एकादशीका दिन भगवान् श्रीराधाकृष्णका मूर्तिहरूलाई काठको सानो खटमा विराजमान गराई भक्तजनहरूले काँधमा बोकेर नगर परिक्रमा गराउँथे। त्यसपछि भगवान् का मूर्तिहरूलाई नगरको पूर्वतर्फ बग्ने सिंघिया खोलामा स्नान गराई पुनः मन्दिरमा फर्काउने धार्मिक परम्परा थियो। यही परम्परालाई ‘खटयात्रा’ भनिन्थ्यो।त्यो समयको विराटनगर आजको जस्तो विस्तारित र व्यस्त महानगरीय स्वरूपमा थिएन। सीमित सडक, सानो बजार र कम जनघनत्वका बीच सुरु भएको त्यो धार्मिक यात्रामा स्थानीय बासिन्दाको उत्साह भने अत्यन्त ठूलो थियो। धर्मप्रति आस्था राख्ने अग्रजदेखि बालबालिका, युवा तथा सर्वसाधारणसम्म सबैजना ‘गोपाल कृष्णा–राधे कृष्णा’को जयघोष गर्दै यात्रामा सहभागी हुन्थे। सत्यनारायण मन्दिर तथा ठाकुरबाडी रोडस्थित रामजानकी मन्दिरलगायतका धार्मिक संस्थाहरूबाट निकालिने खटयात्राले पनि तत्कालीन विराटनगरको धार्मिक जीवनलाई जीवन्त बनाएका थिए। मेनरोड, ठाकुरबाडी रोड र हाटखोला हुँदै सिंघिया नदीसम्म पुग्ने ती यात्राहरू तत्कालीन समाजका लागि धार्मिक अनुष्ठान मात्र नभई सामुदायिक जीवनका महत्वपूर्ण अवसर थिए।

पुरानो पुस्ताका लागि ती खटयात्रा आज पनि अविस्मरणीय स्मृतिका रूपमा जीवित छन्। पुरानो विराटनगर, पुराना सडक, पुराना बजार, धार्मिक नाराले गुञ्जिएका गल्ली र श्रद्धाले भरिएका मानिसका अनुहार सम्झँदा एउटा युग नै आँखाअगाडि उभिएजस्तो हुन्छ।

समय परिवर्तन हुँदै गयो। विराटनगरको जनसंख्या बढ्यो, शहर विस्तार भयो, व्यापारिक गतिविधि बढ्दै गए र धार्मिक चेतना तथा भक्तजनको सहभागिता पनि क्रमशः विस्तार हुँदै गयो। सानो खटमा सीमित रहेको यात्रालाई अझ व्यवस्थित र भव्य स्वरूप दिनुपर्ने आवश्यकता महसुस हुन थाल्यो।

यही क्रममा वि.सं. २०२५ अर्थात् सन् १९६८ मा विराटनगरका प्रतिष्ठित व्यक्तित्वहरू बृ.ज. भूपालमान सिंह कार्की र सत्यनारायण धनावतको प्रमुख नेतृत्व तथा दूरदर्शी सोचमा खटयात्रालाई भव्य रथयात्राका रूपमा विकास गर्ने दूरदर्शि निर्णय गरियो।त्यसपछि प्यागोडा शैलीको आकर्षक रथ निर्माण गरियो। भगवान् श्रीराधाकृष्णका दिव्य मूर्तिहरूलाई रथमा विराजमान गराई नगर परिक्रमा गराउने परम्पराले नयाँ स्वरूप ग्रहण गर्‍यो। यो परिवर्तन विराटनगरको धार्मिक इतिहासमा महत्वपूर्ण मोड सावित भयो।

रथ केवल एउटा धार्मिक वाहन होइन, यसमा इतिहास, कला, शिल्प, आस्था र सामूहिक श्रमको संयोजन देखिन्छ।
रथ तान्ने कार्यमा महिला र पुरुष भक्तजनका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिने परम्पराले यात्रालाई व्यवस्थित बनाउन सहयोग पुर्‍याउँछ। हजारौँ भक्तजनको भीडबीच विशाल रथलाई सुरक्षित रूपमा सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो।

रथको मध्यभागमा भगवान् श्रीराधाकृष्णका दिव्य मूर्तिहरूलाई आकर्षक ढङ्गले सजाएर सिंहासनमा विराजमान गराइन्छ। भगवान् रथमा विराजमान भएर नगरवासीलाई दर्शन दिन निस्कनुभएको दृश्य भक्तजनका लागि अत्यन्त भावपूर्ण क्षण हुन्छ। धेरैका आँखामा श्रद्धाका आँसु हुन्छन्, हात जोडिन्छन् र ओठमा स्वतः ‘जय श्रीराधाकृष्ण’को उच्चारण आउँछ।

रथयात्राको दिन तीनपैनीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल सुरु हुन्छ। विशेष पूजाअर्चना, अभिषेक तथा धार्मिक विधि सम्पन्न भएपछि शुभ साइतमा रथयात्राको प्रारम्भ गरिन्छ।
रथ अघि बढ्न थालेपछि विराटनगरको वातावरण नै बदलिन्छ। ठाउँ–ठाउँमा भक्तजनहरू भगवानको दर्शनका लागि प्रतीक्षारत हुन्छन्। रथ विभिन्न स्थानमा रोकिँदा स्थानीय बासिन्दाले घरका बरण्डा, छत तथा सडक किनारबाट पुष्पवृष्टि गर्दै भगवान् को स्वागत गर्छन्।

विभिन्न वाहनहरूमा साथै बिना वाहन पैदल नै कतै भजन कीर्तन भइरहेको हुन्छ, कतै शंख बजिरहेको हुन्छ, कतै घण्टानाद सुनिन्छ भने कतै धार्मिक झाँकीले सबैको ध्यान आकर्षित गरिरहेको हुन्छ। हजारौँ मानिसको एउटै स्वरमा गुञ्जिने जयघोषले सिङ्गो विराटनगरलाई भक्तिमय बनाउँछ।
त्यो क्षणमा विराटनगर एउटा सामान्य शहरजस्तो देखिँदैन। व्यापारिक गतिविधि, दैनिक व्यस्तता र व्यक्तिगत सरोकारहरू केही समयका लागि पृष्ठभूमिमा पुग्छन् र सामूहिक आस्था अगाडि आउँछ। नगरका सडकहरू केवल आवागमनका मार्ग रहँदैनन् ती श्रद्धा, संस्कृति र जनभावनाका साझा मञ्चमा परिणत हुन्छन्।

श्रीराधाकृष्ण रथयात्राको सबैभन्दा सुन्दर पक्ष यसको सामाजिक समावेशिता हो। यस यात्रामा जात, भाषा, वर्ग वा समुदायको विभेदभन्दा माथि उठेर मानिसहरू सहभागी हुन्छन्। फरक पृष्ठभूमिका मानिसहरू एउटै डोरी समातेर रथ तान्छन्। त्यो डोरी केवल रथ तान्ने साधन रहँदैन,प्रतीकात्मक रूपमा यसले समाजका विभिन्न वर्ग, समुदाय र पुस्तालाई एउटै सूत्रमा बाँध्छ।

रथयात्रा मार्गमा कसैले पानी बाँड्छ, कसैले सरबत, कसैले फलफूल वा प्रसाद वितरण गर्छ। कसैले स्वयंसेवक बनेर भीड व्यवस्थापन गर्छ भने कसैले वृद्ध, बालबालिका वा असहायलाई सहयोग गर्छ।
यही कारण यो रथयात्रा धार्मिक आस्थासँगै सामाजिक सौहाद्रको विशाल उत्सव बन्न पुगेको छ।बहुभाषिक, बहुजातीय तथा बहुधार्मिक सामाजिक संरचना भएको विराटनगरमा यस्तो उत्सवले पारस्परिक सम्मान, सहिष्णुता र विश्वासलाई अझ बलियो बनाउँछ। कतिपय स्थानमा भक्तजनका लागि विभिन्न खाद्य सामग्रीसमेत उपलब्ध गराइन्छ। गर्मी, भीड र लामो यात्राका बीच यस्ता सेवाले भक्तजनलाई ठूलो राहत पुर्‍याउँछन्।
कतिपय संस्थाले स्वास्थ्य तथा प्राथमिक उपचारका सेवासमेत उपलब्ध गराउँछन्। यसरी धार्मिक आस्थालाई मानव सेवासँग जोड्ने परम्पराले विराटनगरको सेवासंस्कृतिलाई उजागर गर्छ।

रथयात्रालाई अझ आकर्षक र जीवन्त बनाउने अर्को महत्वपूर्ण पक्ष हो धार्मिक तथा सांस्कृतिक झाँकी।विभिन्न संघ–संस्था, विद्यालय, धार्मिक समूह तथा सामाजिक संस्थाहरूले तयार पार्ने झाँकीमा भगवान् श्रीकृष्णका बाललीला, राधाकृष्णका विभिन्न स्वरूप, धार्मिक कथा, पौराणिक प्रसङ्ग तथा नेपाली संस्कृति झल्काउने दृश्यहरू प्रस्तुत गरिन्छन्।

भजन–कीर्तन, नृत्य, सांगीतिक प्रस्तुति र धार्मिक नाराले यात्राको वातावरणलाई थप उल्लासमय बनाउँछन्। यसले रथयात्रालाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी एउटा विशाल सांस्कृतिक महोत्सवको स्वरूप प्रदान गरेको छ।

कुनै पनि परम्पराको भविष्य नयाँ पुस्तासँग जोडिएको हुन्छ। पुरानो पुस्ताले आफ्नो अनुभव र संस्कार हस्तान्तरण नगरे तथा नयाँ पुस्ताले त्यसलाई आत्मसात् नगरे परम्परा क्रमशः कमजोर हुँदै जान सक्छ।रथयात्राले विभिन्न पुस्तालाई एउटै ठाउँमा जोड्ने अवसर प्रदान गर्छ। हजुरबुबा–हजुरआमाले आफ्नो बाल्यकालको रथयात्राको स्मृति सुनाउँछन्, अभिभावकले सन्तानलाई परम्पराको अर्थ बुझाउँछन् र नयाँ पुस्ताले त्यसलाई आफ्नै अनुभवसँग जोड्छ।

युवालाई केवल दर्शकका रूपमा होइन, व्यवस्थापन, स्वयंसेवा, सुरक्षा, प्रविधि, सञ्चार तथा सांस्कृतिक प्रस्तुतिमा सहभागी गराइनु यस रथयात्राको विशेषता छ। यसले उनीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो हुन्छ।
ठूलो संख्यामा श्रद्धालु सहभागी हुने धार्मिक उत्सवलाई सुरक्षित, व्यवस्थित र अनुशासित रूपमा सम्पन्न गर्नु ठूलो व्यवस्थापकीय चुनौती हो। त्यसैले रथयात्राको तयारीमा धार्मिक पक्षसँगै व्यवस्थापकीय पक्षलाई पनि उत्तिकै महत्व दिन आवश्यक हुन्छ।स्थानीय प्रशासन, नेपाल प्रहरी, विभिन्न सुरक्षा निकाय, नेपाल रेडक्रस, विभिन्न सामाजिक संघसंस्था, युवा क्लब तथा स्वयंसेवकहरूसँग समन्वय गरी सुरक्षा तथा व्यवस्थापनका योजना बनाइन्छन्।

रथयात्राका दिन मुख्य सडक तथा आसपासका क्षेत्रमा सवारी सञ्चालनमा आवश्यक नियन्त्रण गरिन्छ। विभिन्न चोकमा सुरक्षा व्यवस्था मिलाइन्छ। आधुनिक प्रविधिको प्रयोग गर्दै सीसीटीभी तथा आवश्यकतानुसार अन्य निगरानी प्रणालीको प्रयोगले भीड व्यवस्थापन र सुरक्षा थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछ।

आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिनु पनि अत्यन्त आवश्यक हुन्छ। रथको डोरी, भीडको प्रवाह, यात्राको अनुशासन तथा सुरक्षा व्यवस्थापनमा खटिने स्वयंसेवक र सुरक्षाकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।यसरी परम्परागत धार्मिक यात्रालाई आधुनिक व्यवस्थापनसँग जोड्नु आजको आवश्यकता हो।

पहिले रथयात्राको अनुभव प्रत्यक्ष उपस्थित हुने मानिसमा सीमित हुन्थ्यो। अहिले सञ्चार प्रविधिको विकासले यसको पहुँच धेरै टाढासम्म विस्तार गरेको छ।सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत रथयात्राका दृश्य र गतिविधि देश–विदेशसम्म पुग्छन्। प्रत्यक्ष प्रसारण तथा डिजिटल सामग्रीका माध्यमबाट विराटनगरबाहिर र विदेशमा रहेका भक्तजनले समेत रथयात्राको दर्शन र अनुभव गर्न सक्ने अवसर पाउँछन्।
यसले रथयात्राको प्रचार–प्रसार मात्र गर्दैन, विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई पनि व्यापक बनाउछ।

रथमा विराजमान भगवान् श्रीराधाकृष्ण केवल दर्शन दिन निस्कनुभएको धार्मिक प्रतीक मात्र होइन; उहाँले मानौँ विराटनगरवासीलाई प्रेम, सद्भाव, सेवा, करुणा र एकताको सन्देश दिनुभएको अनुभूति हुन्छ।यही अनुभूति नै रथयात्राको सबैभन्दा ठूलो शक्ति हो।यसले मानिसलाई भगवान्सँग जोड्ने मात्र होइन, मानिसलाई मानिससँग जोड्ने काम पनि गर्छ। यसले धर्मलाई संस्कारसँग, संस्कारलाई संस्कृतिसँग, संस्कृतिलाई समाजसँग र समाजलाई नगरको पहिचानसँग जोडेको छ।

यसैले यसको संरक्षण र संवर्द्धन सम्पूर्ण विराटनगरवासीको साझा दायित्व हो। यसको मौलिकता, धार्मिक गरिमा, ऐतिहासिकता र सामाजिक सद्भावलाई जोगाउँदै अगाडि बढ्नु छ।रथको यात्रा केवल भगवान् को नगर परिक्रमा होइन,यो हाम्रो आस्थाको यात्रा हो।
रथको डोरी केवल काठको रथ तान्ने डोरी होइन,यो समाजलाई एकताको सूत्रमा बाँध्ने डोरी हो।रथका पाङ्ग्रा केवल सडकमा गुड्ने पाङ्ग्रा होइनन्,यी विराटनगरको इतिहास र संस्कृतिलाई भविष्यतर्फ गुडाउने पाङ्ग्रा हुन्।

साना खटबाट सुरु भएको यो महान् यात्रा युगौँसम्म निरन्तर चलिरहोस्। भगवान् श्रीराधाकृष्णको रथसँगै विराटनगरको धार्मिक, सांस्कृतिक, सामाजिक र मानवीय चेतनाको यात्रा पनि निरन्तर अगाडि बढिरहोस्।विराटनगरको यो अमूल्य सांस्कृतिक सम्पदा अझ उज्यालो बनोस्, आस्थाको यो धरोहर सुरक्षित रहोस्।विराटनगरको यो गौरव अक्षुण्ण रहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।