भक्तिको अनुपम यात्रा : हनुमान अंश – डा. विजय दत्त

भक्तिको अनुपम यात्रा : हनुमान अंश - डा. विजय दत्त

मेरा आँखा, कानलगायतका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय पावन भए, जब मैले ‘हनुमान अंश’ फिल्मको श्रवण एवं नयनावलोकन गरेँ। यस्तो अनुपम–अद्भुत फिल्म कम्तीमा रामायण सिरियलपछि नै पाएको छु। नीम करोली बाबाको जीवन–दर्शनको वरिपरि घुम्ने यो फिल्मलाई जति व्याख्या गरे पनि कमै हुन्छ।
अतुलितबलधामं हेमशैलाभदेहं
दनुजवनकृशानुं ज्ञानिनामग्रगण्यम्।
सकलगुणनिधानं वानराणामधीशं
रघुपतिप्रियभक्तं वातजातं नमामि॥

भारतीय सिनेमामा जहाँ एकातिर एक्सन, हिंसा, अत्यधिक भीएफएक्स र तडक–भडकयुक्त विषयहरूको बोलबाला छ, त्यहीँ निर्देशक विशाल चतुर्वेदीको फिल्म ‘हनुमान अंश’ ले एउटा शान्त क्रान्तिका रूपमा सिनेमाघरमा प्रवेश गरेको छ। कुनै विशाल बजेट वा ग्ल्यामरस स्टारकास्टबिना रिलिज भएको यस फिल्मले दर्शकहरूको हृदय मात्र छोएन, बक्स अफिसमा सफलताको नयाँ आयामसमेत स्थापित गरेको छ।

यो फिल्म २०औँ शताब्दीका महान् सन्त, अलौकिक पुरुष तथा कलियुगमा भक्तिका जीवन्त प्रतीक नीम करोली बाबा (महाराजजी) को प्रारम्भिक जीवन, साधना, वैराग्य तथा अलौकिक रूपान्तरणको महायात्रामा आधारित एक परिष्कृत भक्तिपरक जीवनीप्रधान फिल्म हो।

विषयवस्तु र स्वर्णिम विगत
‘हनुमान अंश’ केवल ऐतिहासिक वा जीवनीपरक फिल्म मात्र होइन; यो सनातन धर्मको ‘सेवा र समर्पण’ को आत्मालाई पर्दामा जीवन्त बनाउने एउटा आध्यात्मिक दस्तावेज हो। फिल्मको पटकथाले महाराजजीको प्रारम्भिक जीवनदेखि उहाँ सर्वप्रिय ‘नीम करोली बाबा’ बन्नुभएको अवस्थासम्मको स्वर्णिम विगतलाई अत्यन्त प्रामाणिक र भावुक ढङ्गले प्रस्तुत गरेको छ।

१. बाल्यावस्था र गृहत्याग
फिल्मको सुरुवात उत्तर प्रदेशको एउटा सम्भ्रान्त ब्राह्मण परिवारबाट हुन्छ, जहाँ महाराजजीको जन्म ‘लक्ष्मण नारायण शर्मा’ का रूपमा भएको थियो। बाल्यावस्थादेखि नै उहाँको अनुहारमा अद्भुत तेज र शान्त भाव देखिन्थ्यो।
आफ्नी आमाको असामयिक निधनपछि केवल १३ वर्षको अल्पायुमा नै उहाँको मनमा सांसारिक सुखहरूको नश्वरताप्रति वैराग्य उत्पन्न भयो। ईश्वरसँग पुनर्मिलन तथा सत्यको खोजीको तीव्र उत्कण्ठामा उहाँ चुपचाप घर–परिवार छाडेर हिँड्नुभयो।

२. कठोर साधना, मौन र ब्रजको रज
फिल्मको मध्य भागमा उहाँका अज्ञात साधनाका वर्षहरूलाई प्रस्तुत गरिएको छ। उहाँ उत्तर भारतका घना जंगल, गंगा–यमुनाका तट तथा ब्रज क्षेत्रको पावन भूमिमा विचरण गरिरहनुभयो।
यस क्रममा उहाँले वर्षौँसम्म मौन धारण गर्नुभयो, अत्यन्त कठिन तपस्या गर्नुभयो र वैष्णव सन्तहरूको सान्निध्यमा रहेर आफ्नो चेतनालाई हनुमानजीको अगाध भक्तिमा विलीन गर्नुभयो।
फिल्ममा यो कुरा अत्यन्त सुन्दर ढङ्गले देखाइएको छ कि उहाँले सिद्धिहरू सञ्चय गर्नुको सट्टा अहंकारलाई पूर्ण रूपमा विसर्जन गर्नुभयो।

३. रेलको ऐतिहासिक प्रसङ्ग र ‘नीब करोली’ नामकरण
फिल्मको सबैभन्दा रोमाञ्चक तथा केन्द्रीय मोड त्यो क्षण हो, जब २५ वर्षको उमेरमा बाबा प्रथम श्रेणीको रेलको डिब्बामा यात्रा गरिरहनुभएको थियो। फर्रुखाबाद नजिकै ‘नीब करोली’ (Niba Karori) नामक गाउँको आसपास एक अंग्रेज टीटीई (TTE) ले टिकटबिना यात्रा गरेको भन्दै उहाँलाई जबर्जस्ती रेलबाट ओरालिदियो।

बाबा कुनै विरोध वा क्रोध नगरी मुस्कुराउँदै रेलबाट ओर्लनुभयो र आफ्नो चिमटा–कमण्डलसहित नजिकैको एउटा रूखमुनि बस्नुभयो।
त्यसपछि जे भयो, त्यसले इतिहास रच्यो।
गार्डले हरियो झन्डा देखाए, चालकले थ्रोटल दबाए, तर शक्तिशाली रेलको इन्जिन एक इन्च पनि अगाडि बढेन।
रेलवेका वरिष्ठ इन्जिनियरहरू बोलाइए। अर्को इन्जिन जोडियो। ब्रेक तथा प्राविधिक प्रणाली जाँच गरियो—सबै कुरा दुरुस्त थियो, तर पनि रेल टसको मस भएन।
स्थानीय ग्रामीणहरूले अधिकारीहरूलाई सम्झाए कि जसलाई तपाईंहरूले रेलबाट ओराल्नुभएको छ, उहाँ कुनै साधारण मानिस होइनन्। अन्ततः अंग्रेज अधिकारीहरूले आफ्नो गल्ती स्वीकार गरे, बाबासँग क्षमा मागे र उहाँलाई पुनः रेलमा बस्न अनुरोध गरे।

बाबाले दुईवटा सर्त राख्नुभयो। पहिलो, रेलवेले त्यस गाउँमा स्थानीय गरिब ग्रामीणका लागि एउटा रेलवे स्टेसन निर्माण गर्नेछ। दोस्रो, साधु–सन्तहरूको सम्मान गरिनेछ।

अधिकारीहरूले सर्त स्वीकार गरेपछि बाबा डिब्बामा चढ्नेबित्तिकै रेल आफैँ चल्न थाल्यो। यही अलौकिक घटनापछि उहाँ ‘नीब करोली बाबा’—जो कालक्रममा नीम करोली बाबा का रूपमा प्रसिद्ध हुनुभयो—का नामले विश्वभर प्रसिद्ध हुनुभयो।

४. हनुमान अंश’ का रूपमा लोककल्याण
फिल्मको अन्तिम खण्डमा उहाँद्वारा स्थापित कैंची धाम (उत्तराखण्ड) तथा वृन्दावन आश्रमको निर्माण, निरन्तर सञ्चालन हुने भण्डारा तथा उहाँद्वारा गरिएका गुप्त दानहरूलाई प्रस्तुत गरिएको छ।
उहाँले आफूलाई कहिल्यै भगवान् वा गुरु भन्नुभएन। उहाँ सधैँ यही दोहोर्‍याउनुहुन्थ्यो—
“सब हनुमानजी गर्छन्, म त केवल एक निमित्त हुँ।”

फिल्म सफल हुनुका कारण
सुरुवातमा अत्यन्त सीमित स्क्रिन तथा केवल केही सय शोका साथ रिलिज भएको यो फिल्म क्रमशः एउटा जन–आन्दोलनमा परिणत भयो। यसको सफलताका प्रमुख कारणहरू निम्न छन्।
साँचो आस्था र सरलता
आजको समयमा अधिकांश धार्मिक फिल्महरूले भारी–भरकम विशेष प्रभाव र कृत्रिम नाटकीयताको सहारा लिइरहेका बेला ‘हनुमान अंश’ ले सरलतालाई आफ्नो शक्ति बनाएको छ। यसमा कुनै देखावटीपन थिएन, केवल भाव थियो। दर्शकहरूले यसलाई केवल सिनेमा हेर्नु नभई एउटा ‘आध्यात्मिक अनुभव’ का रूपमा ग्रहण गरे।

माउथ टु माउथ पब्लिसिटीको चमत्कार
यस फिल्मका पछाडि कुनै ठूलो कर्पोरेट हाउस वा भारी–भरकम पीआर अभियानको हात थिएन। फिल्म हेरेर बाहिर निस्केका आम दर्शकहरूले नै यसका रील, भिडियो र समीक्षा सामाजिक सञ्जालमा साझा गरे। फलस्वरूप सिनेमाघरबाहिर लामो–लामो लाइन देखिन थाले।

वैश्विक सन्दर्भ र युवा पुस्तासँगको सम्बन्ध
आजको युवा पुस्ता तनाव र भ्रमसँग जुधिरहेको छ। नीम करोली बाबाको जीवन—जसले स्टीव जब्स (Apple), मार्क जुकरबर्ग (Meta), जुलिया रोबर्ट्स तथा पण्डित रविशंकरजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूलाई शान्ति र दिशा प्रदान गरेको मानिन्छ—युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
सशक्त अभिनय र मन्त्रमुग्ध पार्ने संगीत
मुख्य अभिनेता शोभिनव सत्याले नीम करोली बाबाको भूमिकामा आफ्ना आँखाको शान्ति, मन्द मुस्कान तथा सौम्य भाव–भङ्गिमामार्फत पात्रमा आत्मा भरेका छन्। फिल्मको पृष्ठभूमि संगीत तथा हनुमान चालिसाको शास्त्रीय गायनले दर्शकहरूलाई भावविभोर बनाउँछ।
आस्थाको सुन्दरतम इतिहास
हनुमान अंश’ केवल विगतका घटनाहरूको वर्णन मात्र होइन; यो सनातन परम्पराका मूल सिद्धान्तहरू-‘अहंकार विसर्जन’, ‘अतिथि देवो भवः’ तथा ‘निःस्वार्थ मानव सेवा’—को सुन्दरतम दस्तावेज हो।
यो फिल्मले यस कुराको प्रत्यक्ष प्रमाण प्रस्तुत गर्छ कि साँचो सन्त त्यो होइन, जसले महल बनाउँछ वा लाखौँ मूल्यका वस्त्र लगाउँछ; साँचो सन्त त त्यो हो, जसले एउटा कम्बल ओढेर सम्पूर्ण संसारलाई आफ्नो प्रेमको न्यानोपनले ढाक्छ।

महाराजजीको जीवनले सिकाउँछ कि राम–नामको निरन्तर स्मरण गर्नु र भोकालाई भोजन गराउनु नै सबैभन्दा ठूलो पूजा हो। यही कारणले यो फिल्म हेरेपछि दर्शकहरू सिनेमाघरबाट एउटा अलग प्रकारको शान्ति र मानसिक शुद्धता लिएर बाहिर निस्कन्छन्।

बक्स अफिस रेकर्ड
व्यावसायिक तथा वित्तीय दृष्टिले ‘हनुमान अंश’ ले भारतीय सिनेमाको इतिहासमा सफलताका सम्पूर्ण गणित नै परिवर्तन गरिदिएको छ। अत्यन्त सीमित बजेटमा निर्माण गरिएको यस फिल्मले आफ्नो लागतको तुलनामा अभूतपूर्व प्रतिफल (ROI) प्राप्त गरेको छ।

अन्त्यमा-
मैने तेरे ही भरोसे हनुमान
सागर मे नैया डार दई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।