भगवानका रूपमा पूजिने सुंगुर, तर सुंगुर पाल्ने मानिस किन ‘अछुत’?

शिक्षित समाजको चेतनामा अझै जीवित छ जातीय विभेदको बिरोधाभाष

राजविराज १० असोज

समाज परिवर्तनको नेतृत्व गर्ने, आफूलाई शिक्षित, विद्वान्, आधुनिक तथा चेतनशील ठान्ने वर्गकै व्यवहारमा जातीय विभेद र छुवाछुतका अवशेष देखिनु नेपाली समाजको गम्भीर विरोधाभास बनेको छ।

धर्मग्रन्थमा सुंगुरलाई भगवान् विष्णुको वराह अवतारसँग जोडेर धार्मिक आस्था व्यक्त गर्ने समाजमै सुंगुर पाल्ने, मासु खाने वा त्यससँग सम्बन्धित परम्परागत पेसा गर्ने समुदायलाई अछुत, बहिष्कृत र हेय दृष्टिले हेर्ने प्रवृत्ति आज पनि पूर्णतः समाप्त हुन सकेको छैन।
प्रश्न यहीँबाट उठ्छ—यदि वराहलाई भगवान्को अवतार मानिन्छ भने त्यही जनावर पाल्ने मानिस अपवित्र कसरी भयो?

यो प्रश्न केवल धार्मिक आस्थाको प्रश्न होइन; यो नेपाली समाजको सामाजिक चेतना, जातीय संरचना र मानव मर्यादा माथि उठेको प्रश्न हो।

अझ विडम्बनापूर्ण अवस्था त्यतिबेला देखिन्छ, जब आफूलाई सनातनी संस्कृतिको अनुयायी बताउने कतिपय मानिसले आफ्नै धार्मिक मान्यताभित्र जोडिएको जनावरलाई घरआँगनमा देख्दा अपवित्र ठान्छन्। कतिपय स्थानमा यस्तो मानसिकताका कारण घर, आँगन वा वरिपरि शुद्धीकरण गर्ने अभ्याससमेत देखिन्छ। यस्तो व्यवहारले धार्मिक आस्था र सामाजिक व्यवहार बीच रहेको गहिरो विरोधा भाषालाई उजागर गर्छ।

पढेलेखेको समाजले प्रश्न गर्नुपर्ने समय आजको युगमा शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम होइन; शिक्षा मानिसलाई प्रश्न गर्न, गलत परम्पराको समीक्षा गर्न र समानताको पक्षमा उभिन सिकाउने चेतना हो।

तर यदि विश्वविद्यालयको डिग्री हातमा बोकेर पनि मानिसलाई जन्मका आधारमा उच्च–नीच ठानिन्छ भने त्यो शिक्षा समाज परिवर्तनको साधन बन्न सकेको मान्न सकिँदैन।

सुंगुर पाल्ने, छाला तथा श्रमसँग जोडिएका परम्परागत पेसा गर्ने, सरसफाइ वा अन्य श्रमप्रधान काममा संलग्न समुदायलाई हेय दृष्टिले हेर्ने मानसिकता आफैँमा सामाजिक अन्यायको एउटा रूप हो। मानिसको पेसा, जन्म वा समुदायले उसको मानव मर्यादा निर्धारण गर्न सक्दैन।

ऐलानी, सार्वजनिक र प्राकृतिक सम्पदा कब्जा गर्नेहरू ‘उच्च’ कसरी? जातीय विभेदको अर्को गम्भीर विरोधाभास सम्पत्ति र सामाजिक प्रतिष्ठाको सवालमा देखिन्छ।

समाजका साझा स्रोत—ऐलानी जग्गा, सार्वजनिक बाटो, सडक, नदी–नाला, पैनी, पोखरी, चौर, पर्ती जग्गा, पौवा, गुठी तथा अन्य सार्वजनिक सम्पत्ति—माथि व्यक्तिगत स्वार्थका लागि अतिक्रमण वा दुरुपयोग गर्ने प्रवृत्तिबारे प्रश्न उठ्नुपर्ने हो।

तर विडम्बना के छ भने कतिपय अवस्थामा सार्वजनिक सम्पत्ति संरक्षण गर्नेभन्दा त्यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने व्यक्ति नै आर्थिक रूपमा सम्पन्न, प्रभावशाली, ‘उच्च’ र ‘विद्वान्’ भनेर चिनिन्छन्।

अर्कोतर्फ आफ्नो श्रममा बाँच्ने, अधिकारको माग गर्ने र इमानदारीपूर्वक जीवन बिताउने समुदायलाई सामाजिक रूपमा तल्लो दर्जामा राख्ने मानसिकता अझै जीवित छ।
सार्वजनिक सम्पत्ति मिच्नु अपराध वा अनैतिकता हो भने त्यसको आधारमा मानिसको सामाजिक हैसियत किन बढ्छ? अनि आफ्नो श्रम गरेर जीवन बिताउने मानिसको हैसियत किन घट्छ?

श्रम गर्ने हात अपवित्र होइनन् समाज निर्माण गर्ने प्रत्येक काममा श्रमको भूमिका हुन्छ। खेतमा काम गर्ने हात, सडक सफा गर्ने हात, पशुपालन गर्ने हात, निर्माण गर्ने हात, कपडा सिलाउने हात, छाला प्रशोधन गर्ने हात वा अन्य श्रम गर्ने हातले समाजलाई चलाइरहेका हुन्छन्।

तर त्यही श्रम गर्ने मानिसलाई ‘तल्लो’ र श्रम नगरी सम्पत्ति तथा पहुँचका आधारमा आफूलाई ‘उच्च’ ठान्ने प्रवृत्तिले समाजको नैतिक मापदण्डमाथि प्रश्न उठाउँछ।
मानिसको मूल्य उसको जन्मले होइन, उसको व्यवहार, इमानदारी, श्रम, चरित्र र समाजप्रतिको योगदानले निर्धारण हुनुपर्ने हो।

सनातनको नाममा विभेद कि सनातनको मर्म?
सनातन संस्कृतिको नाम लिनेहरूले पनि अब एउटा आधारभूत प्रश्नको सामना गर्नुपर्ने समय आएको छ—धर्मले मानिसलाई जोड्ने हो कि जन्मका आधारमा विभाजन गर्ने?

यदि धर्मग्रन्थका कुनै प्रतीक वा पात्रलाई सम्मान गरिन्छ, तर त्यससँग सम्बन्धित समुदायलाई अपमान गरिन्छ भने त्यहाँ धार्मिक आस्थाभन्दा सामाजिक पूर्वाग्रह बलियो भएको देखिन्छ।

धर्मको नाममा विभेदलाई निरन्तरता दिनेभन्दा धर्मका मानवीय, नैतिक र सहअस्तित्वका पक्षलाई व्यवहारमा उतार्नु नै सभ्य समाजको पहिचान हुनुपर्छ।
अब ‘उच्च’ को परिभाषा बदलिनुपर्छ
समाजले अब एउटा नयाँ मापदण्ड निर्माण गर्न आवश्यक छ।

जसले सार्वजनिक सम्पत्ति जोगाउँछ, ऊ सम्मानयोग्य हो।जसले आफ्नो श्रमबाट जीवन चलाउँछ, ऊ सम्मानयोग्य हो।जसले अरूको अधिकारको सम्मान गर्छ, ऊ सम्मानयोग्य हो।जसले जात, धर्म, पेसा वा जन्मका आधारमा विभेद गर्दैन, ऊ सम्मानयोग्य हो।

तर सार्वजनिक सम्पत्ति मास्ने, कमजोरको अधिकार खोस्ने, जन्मका आधारमा मानिसलाई अपमान गर्ने र विभेदलाई संस्कारको नाममा निरन्तरता दिने व्यक्ति धनी वा शिक्षित हुँदैमा नैतिक रूपमा ‘उच्च’ बन्न सक्दैन।

अब प्रश्न दलित वा बहिष्कृत समुदायले मात्र सोध्ने होइन। सम्पूर्ण शिक्षित, विद्वान् र चेतनशील समाजले आफैँलाई सोध्नुपर्ने प्रश्न हो—हामीले पढेको शिक्षा हाम्रो व्यवहारमा देखिएको छ कि केवल प्रमाणपत्रमा सीमित छ?

जातीय विभेदको अन्त्य भाषणले होइन, व्यवहार परिवर्तनबाट हुनेछ।र समाजमा मानिसको मूल्य उसको जन्म वा पेसाले होइन, मानव भएर बाँच्ने अधिकार र उसको कर्मले निर्धारण गर्ने दिन नै वास्तविक सामाजिक चेतनाको दिन हुनेछ।

भगवान्को अवतारमा देखिने जनावरलाई सम्मान गर्ने तर त्यससँग सम्बन्धित मानिसलाई अपमान गर्ने विरोधाभास अन्त्य नगरेसम्म हाम्रो शिक्षित र सभ्य समाजको दाबी अधुरै रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।