पोखरियाका २५ विद्यालयका ६ हजार ९४४ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री
पोखरियाका २५ विद्यालयका ६ हजार ९४४ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री

पर्सा १६ असोज
पर्साको दोस्रो सदरमुकामका रूपमा चिनिने पोखरिया नगरपालिकाका २५ विद्यालयमा अध्ययनरत ६ हजार ९४४ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्ट (CFRD) को सहयोग तथा न्यु लाइट फाउन्डेसनको आयोजनामा पोखरिया नगरपालिका–३ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो।
विद्यालयगत विवरणअनुसार विद्यार्थीलाई लक्षित गरी कुल ७० सेट/इकाइ सामग्री उपलब्ध गराइएको छ। सामग्रीमा शैक्षिक सामग्रीका साथै फुटबल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिसलगायत खेलकुद सामग्रीसमेत रहेका छन्।
कार्यक्रमबाट पोखरियाका विभिन्न वडामा रहेका माध्यमिक, आधारभूत तथा प्राथमिक विद्यालयका विद्यार्थी लाभान्वित भएका छन्। लाभग्राहीमध्ये सबैभन्दा बढी विद्यार्थी जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयका रहेका छन्। उक्त विद्यालयका २ हजार २ सय ६५ विद्यार्थीका लागि ७ सेट सामग्री उपलब्ध गराइएको छ।
त्यस्तै नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालय, सतवरिया, महुवानी पदम माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय आधारभूत विद्यालय फुलवरिया, श्री नेपाल राष्ट्रिय शशिधर कृष्ण आधारभूत विद्यालय, झखरा लामरिया, बसन्तपुर, श्रीसिया, गोविन्दपुर, जगतपुर, बैरिया बिर्ता, सेमरबारी बर्वालगायतका विद्यालयलाई समेत कार्यक्रममा समेटिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न चौहानले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न यस्ता सामग्रीको महत्वपूर्ण भूमिका रहने बताए। कार्यक्रममा लायन्स क्लब पोखरियाका अध्यक्ष नेजामुद्दिन समानीको समेत विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा सम्बन्धित विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। चाइना फाउन्डेसन फर रुलर डेभलपमेन्टका कविता कुमार नेपाल तथा न्यु लाइट फाउन्डेसनका आसिफ हसनको सहभागितामा सामग्री वितरण गरिएको हो।
आयोजकका अनुसार ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउनुका साथै खेलकुदमा सहभागी हुने अवसर बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सामग्रीको उपलब्धताले विद्यार्थीको सिकाइ तथा अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






