डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा डेन्टल स्वास्थ्य शिविर, सयौँ सेवाग्राही लाभान्वित

डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा डेन्टल स्वास्थ्य शिविर, सयौँ सेवाग्राही लाभान्वित

डुमरवाना १७ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–डुम्बरवानास्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा डेन्टल क्लिनिक शिविर सम्पन्न भएको छ।

समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य परीक्षण र उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा बिहानैदेखि सयौँ स्थानीय सेवाग्राहीको सहभागिता रहेको थियो।

शिविरको अध्यक्षता ब्रह्मकुमारी ममता दिदीले गर्नुभएको थियो भने जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, कलैया, बाराकी प्रमुख चिकित्सक डा. पुनिता केसी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

शिविरमा दाँत, मुख तथा गिजासम्बन्धी रोग विशेषज्ञ डा. उषा महतो र डा. प्रनिषा सिम्खडा लगायत विभिन्न क्षेत्रका चिकित्सक, आयुर्वेदिक चिकित्सक, वैद्य तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

शिविरमा सेवाग्राहीका लागि निःशुल्क फुल बडी स्वास्थ्य जाँच, रक्तचाप परीक्षण, सुगर परीक्षण तथा तौल परीक्षण लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो। आयुर्वेदिक चिकित्सक तथा वैद्यहरूले स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क आयुर्वेदिक औषधिसमेत वितरण गरेका थिए।

त्यसैगरी, दाँत, मुख तथा गिजासम्बन्धी समस्या भएका सेवाग्राहीका लागि विशेष निःशुल्क डेन्टल क्लिनिक सञ्चालन गरिएको थियो। डेन्टल सेवाअन्तर्गत सेवाग्राहीको दाँत तथा मुखको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र उपचारसम्बन्धी जानकारी दिइएको थियो।

शिविरमार्फत स्थानीय समुदायमा आयुर्वेदिक चिकित्सा, प्राकृतिक जीवनशैली, नियमित स्वास्थ्य परीक्षण तथा रोगको समयमै पहिचान सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा गाउँमै उपलब्ध भएपछि स्थानीय सेवाग्राहीले राहत महसुस गरेका थिए। आयोजकका अनुसार यस्ता स्वास्थ्य शिविरले आर्थिक तथा अन्य कारणले नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग पुग्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।