प्रकृति–संस्कृति संरक्षणसँगै युवालाई आध्यात्मिक अभियानमा जोड्दै भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्च
प्रकृति–संस्कृति संरक्षणसँगै युवालाई आध्यात्मिक अभियानमा जोड्दै भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्च

राजेश कुमार शर्मा
जहदा १८ असोज
प्रकृति संस्कृति संरक्षण अभियानअन्तर्गत भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्चले नेपाल–भारत सीमा क्षेत्रमा रहेको जहदास्थित दुर्गा मन्दिरलाई पंखा सहयोग गरेको छ।
मञ्चले लक्ष्मीनिया युवा क्लबका अध्यक्ष नितेश साहलाई उक्त पंखा हस्तान्तरण गरेको हो। मन्दिरमा आउने श्रद्धालु तथा स्थानीयलाई सहजता प्रदान गर्ने उद्देश्यले पंखा सहयोग गरिएको जनाइएको छ।
कार्यक्रममा भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्चका अध्यक्ष राजेश कुमार शर्माले प्रकृति संस्कृति संरक्षण अभियानअन्तर्गत सीमा क्षेत्रका विभिन्न मन्दिर तथा धार्मिक स्थलमा संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको बताए।
उनका अनुसार मञ्चले विभिन्न मन्दिर परिसरमा शिवलिंग तथा रुद्राक्षका बिरुवा रोप्ने, वातावरण संरक्षण गर्ने तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्यलाई प्राथमिकता दिएको छ।
अध्यक्ष शर्माले अभियानको मुख्य उद्देश्य युवापुस्तालाई प्रकृति र संस्कृतिसँग जोड्दै आध्यात्मिक चेतनाको विकास गर्नु रहेको बताए। युवालाई सकारात्मक गतिविधिमा सहभागी गराएर गलत क्रियाकलापबाट टाढा राख्नुका साथै विशेषगरी लागूऔषधको दुर्व्यसनबाट युवालाई जोगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।
उनले प्रकृति संरक्षण र संस्कृति संरक्षणलाई एकअर्काका परिपूरकका रूपमा अघि बढाउँदै युवालाई सामाजिक तथा आध्यात्मिक गतिविधिमा सक्रिय बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा विनिता सिंह, अशोक यादव, श्यामसुन्दर मण्डल लगायत मन्दिर समितिका सदस्य तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।






