भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहित को परिवार अलपत्र

भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि २३ कामदार र १९ बालबालिकासहित को परिवार अलपत्र

प्रेमचन्द्र झा/असोज १९ रौतहट

रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको प्रहरीले उद्धार गरी भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ।

प्रहरीका अनुसार २०८३ असोज १८ गते राति करिब २ः३० बजे लक्ष्मीपुरस्थित मोहम्मद मुजामिलले सञ्चालन गरेको मदिना इँटाभट्टामा भारतीय ठेकेदारमार्फत काम गर्न आएका कामदार तथा उनीहरूका आश्रित परिवार अलपत्र परेको सूचना प्राप्त भएको थियो।

सूचनापछि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी घटनाबारे आवश्यक अनुसन्धान गरिएको थियो।

उद्धार गरिएका ४२ जनामध्ये १२ जना पुरुष, ११ जना महिला, १० जना बालक र नौ जना बालिका रहेका छन्। उनीहरूलाई काममा लगाउन ल्याएका भारतीय ठेकेदार भारतीय भएपछि कामदार तथा उनीहरूका परिवार समस्यामा परेका थिए।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सोही दिन साँझ ५ बजे ना.७ ख. १६७५ नम्बरको बसमा राखेर उनीहरूलाई गौर भन्सारतर्फ पठाएको थियो। गौर भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतको वैरगनिया क्षेत्रमा रहेको सशस्त्र सीमा बल (एसएसबी), २०औँ बटालियनअन्तर्गतको एफ कम्पनीको एन्टी ह्युमन ट्राफिकिङ युनिट (एएचटीयू) को टोलीलाई सकुशल जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

कामको सिलसिलामा अर्को देशमा आएका कामदार तथा उनीहरूका आश्रित बालबालिका ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेको यस घटनाले श्रमिकको सुरक्षा र रोजगारीका नाममा हुने सम्भावित शोषणप्रति प्रश्न उठाएको छ।

यस्ता घटनामा कामदारलाई रोजगारीका लागि ल्याउने ठेकेदारको पहिचान, श्रम सम्झौता, पारिश्रमिकको अवस्था तथा कामदारको सुरक्षासम्बन्धी विषयमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ।
प्रहरी चौकी हरिनगरबाट करिब पाँच किलोमिटर पूर्व–दक्षिणमा पर्ने घटनास्थलबाट उद्धार गरिएका सबै ४२ जनालाई भारतीय सुरक्षा निकायको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।