वीरगञ्ज कलेज द्वारा सात दिने व्यावसायिक लेखा प्रशिक्षण तालिम सुरु

वीरगञ्ज २ भदौ

वीरगञ्ज कलेजले आजदेखि सात दिने व्यावसायिक लेखा सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । भिस्वा होटेलमा आयोजित तालिमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले गरेका थिए ।

तालिम उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि टेमानीले वीरगञ्ज औद्योगिक र आर्थिक सहर भएर पनि व्यावसायिक दक्षतामा कमजोर रहेकोले कलेजले पहिलो पटक सुरु गरेको व्यावसायिक लेखा तालिम सराहनीय रहेको बताए ।

उनले तालिममा सहभागी विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र सीपबाट नै व्यावसायिक दक्षता हासिल गर्ने भएकोले एकाग्र मनले तालिम लिन सुझाव दिए । बजारमा सबैभन्दा धेरै माग लेखाको नै हुने र रोजगारीका लागि पनि सहज क्षेत्र लेखा नै भएकोले यसको महत्त्व बुझेर कलेजले सुरु गरेको तालिम उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले तालिमले व्यावसायिक दक्षताको विकास हुने विश्वास व्यक्त गरे । तालिमले आर्थिक तथा औद्योगिक नगरीमा रहेका उद्योग प्रतिष्ठानलाई आवश्यक जनशक्ति उत्पादन गर्न व्यावहारिक सीपको तालिम उपयोगी हुने वक्ताहरूले बताएका छन् ।

वीरगञ्ज कलेजको सञ्चालक समितिका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सहसचिव नीरज अग्रवाल, एनएमबी बैङ्कका शाखा प्रबन्धक सौरभ सर्राफ, पत्रकार महासङ्घ केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कलेज प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत गरेका थिए भने सहजीकरण कलेजका शिक्षक कृष्णा पासवानले गरेको कलेज प्रमुख विनोद गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।