प्रदर्शनकारीहरुले पत्रकार साह माथि आक्रमण गर्दै खोसे मोबाईल, पत्रकार महासंघद्धारा कारवाहीको माग

वीरगंज २१ पुस । वीरगंजमा सोमबार दुई समुदाय बिच भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा पत्रकार श्रवण साहमाथि हातपात गर्नुका साथै उनको मोबाइल फोन समेत खोसेर गायब पारिएको छ ।
धनुषामा मस्जिद तोडफोडको घटनाको विषयलाई लिएर वीरगंजमा आइतबार देखि नै दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन् । सोमबार पनि बिहानै देखि ती दुवै समुहले वीरगंजका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए ।
वीरगंजको महाबिर स्थान नजिकै अनमोल स्वीट अगाडि सोमबार दिउँसो भइरहेको प्रदर्शनको भिडियो खिच्ने क्रममा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक साह माथि प्रदर्शकारीहरुले हातपात गर्नुका साथै उनको मोबाइल फोन खोसेका हुन् । सो मोबाइल अहिलेसम्म पनि आँफुले फिर्ता नपाएको पत्रकार साहले बताए ।
यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै पत्रकार साहमाथि भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरू माथि आक्रमण तथा दुव्र्यवहारका घटना बढ्दै गएको प्रति पत्रकार महासंघ पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ पर्साका सचिव बिजय कुमार महतोद्धारा जारी विज्ञप्तीमा प्रदर्शनको दृश्य खिचिरहेका भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक साहमाथि प्रदर्शनकारीले आक्रमण गर्नुका साथै मोबाइल समेत खोस्ने घटना निन्दनीय भएको भन्दै पत्रकार महासंघले समाचार संकलनमा खटिएका पत्रकार माथि गरिएको आक्रमण र अवरोध प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने अधिकार माथिको गम्भीर उल्लंघन भएको उल्लेख छ ।
महासंघले स्वतन्त्र प्रेसविरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत गराउँदै पत्रकार माथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग पनि गरेको छ ।
पत्रकार महासंघ पर्सा शाखाले धार्मिक समुदाय सँग सम्बन्धित प्रदर्शनका समाचार सामग्री प्रसारण र प्रकाशन गर्दा संयमता र सावधानी अपनाउन सञ्चारकर्मीहरुलाई अपिल समेत गरेको छ ।





