कपडा बाँडेको आरोपमा जसपा उम्मेदवार अशोक टेमानीलाई निर्वाचन आयोगको ४८ घण्टे अल्टिमेटम

कपडा बाँडेको आरोपमा जसपा उम्मेदवार अशोक टेमानीलाई निर्वाचन आयोगको ४८ घण्टे अल्टिमेटम

काठमाडौं, २० माघ

पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अशोक टेमानी विरुद्ध मतदातालाई कपडा वितरण गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी परेको छ। टेमानी जनता समाजवादी पार्टी (जसपा) नेपाल का उम्मेदवार हुन्।

उजुरी प्राप्त भएपछि निर्वाचन आयोगले टेमानीसँग लिखित स्पष्टीकरण माग गरेको छ। आयोगले पठाएको स्पष्टीकरण पत्रमा उम्मेदवार टेमानीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिन्सी (कपडा) वितरण गरेको भन्ने उजुरी परेको उल्लेख गरिएको छ।

आयोगका अनुसार यस्तो कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (व) विपरीत पर्न जान्छ। सोही आधारमा आयोगले टेमानीलाई सोधेको छ— मतदातालाई प्रभावित पार्ने उद्देश्यले जिन्सी वितरण गर्ने कार्य आचारसंहिता उल्लंघन हुन्छ वा हुँदैन ?

यदि उल्लंघन प्रमाणित भएमा किन आचारसंहिता तथा प्रचलित निर्वाचन कानुन अनुसार कारबाही गर्नु नपर्ने हो भन्ने प्रश्नसमेत सोधिएको छ।

आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको ४८ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्सामा पुग्ने गरी लिखित स्पष्टीकरण पेश गर्न टेमानीलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।